
चितवन : खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ। भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि धमाधम धाराको लाइन काटिन थालिएको हो।
कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहक मध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो। ‘कार्यालयले रु तीन करोड ७० लाख बक्यौता उठाउन बाँकी छ’ उहाँले भन्नुभयो। बोर्डले भरतपुर महानगरपालिका–१ देखि १६ सम्म र वडा नम्बर २२ लाई आफ्नो कार्यक्षेत्र बनाएर पानी वितरण गर्दै आएको छ।
बक्यौता असुलीका लागि टोली बनाएर काम गर्न थालिएको प्रमुख बरालले बताउनुभयो। टोलीले हालसम्म नौ ग्राहकको धाराको लाइन काटिसकेको छ। लामो समय महसुल नतिर्ने ३०० ग्राहकबाट रु २० लाख बक्यौता उठाउन बाँकी छ। ती ग्राहकले विगत पाँच वर्षदेखि बक्यौता रकम बुझाएका छैनन्। तीन महिनासम्म बक्यौता नतिरेका १३ हजार २५ ग्राहकबाट रु तीन करोड ५० लाख बक्यौता उठाउन बाँकी रहेको प्रमुख बरालले बताउनुभयो।
बक्यौता असुलीका लागि कार्यालयले ग्राहकलाई एसएमएस गर्ने, पत्रचार गर्ने लगायतका काम गर्न थालिएको छ। पत्राचारपछि बक्यौता असुलको क्रम बढेको छ। बोर्डले मासिक दुई करोड ७६ लाख लिटर पानी बिक्री गर्दै आएको छ। अहिले चोरी नियन्त्रण भए पनि ढल निकासका लागि नाला बनाउने, सडक मर्मत लगायतका कामले चुहावट भने नरोकिएको कार्यालयले जनाएको छ।


160 पटक हेरिएको 

