सुरक्षित पानी उपभोगका लागि सरोकारवालाबीच सहकार्य अनिवार्य, हेटौंडामा अझै चुनौती कायमै

  वास खबर समाचारदाता  59 पटक हेरिएको

हेटौंडा : दिगो विकास लक्ष्य (SDG 6) ले सबैका लागि सुरक्षित र व्यवस्थित खानेपानी तथा सरसफाइको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको भए पनि मकवानपुरको हेटौंडामा यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्।

Sanitation and Water for All (SWA) र वाटर एड (WaterAid) को सहयोगमा राडो नेपालद्वारा आयोजित “हेटौंडामा सुधारिएको WASH उपलब्धीका बाटाहरु: अभाव र रणनीतिहरूको पहिचान” विषयक अन्तक्रिया कार्यक्रममा सहभागीहरूले शुद्ध पानी उपभोग अधिकार सुनिश्चित गर्न उपभोक्ता, उपभोक्ता समिति, स्थानीय सरकार र खानेपानी बोर्डबीच घनिष्ठ सहकार्य अपरिहार्य भएकोमा जोड दिएका हुन्।

आपसी उत्तरदायित्व संयन्त्र मार्फत बहु–सरोकारवालाको संलग्नता र आपसी उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले आफूहरूले उपभोग गर्दै आएको पानीको शुद्धताप्रति सरोकारवालाहरूले चासो दिनु नै सुधारको सुरुआत भएको उल्लेख गर्नुभयो। उहाँले उच्च–स्तरीय प्रतिबद्धताअनुसार कार्यान्वयन हुन नसक्दा खानेपानी तथा सरसफाइ क्षेत्रमा समस्या झनै जटिल बन्दै गएको बताउनुभयो।

उहाँका अनुसार राष्ट्रिय योजना, अन्तर्राष्ट्रिय प्रतिबद्धता र स्थानीय यथार्थबीच सन्तुलन अभावका कारण सेवा प्रवाहमा अवरोध सिर्जना भइरहेको छ। विशेषगरी हेटौंडामा नगरपालिका वास (WASH) समन्वय समितिको निष्क्रियता, नियमित बैठकको अभाव र कार्यकारी अधिकार नहुँदा प्रभावकारी योजना तथा रणनीति निर्माणमा कमजोरी देखिएको उहाँले औल्याउनुभयो।

कार्यक्रममा सहभागी उपभोक्ता समितिका प्रतिनिधिहरूले स्थानीय सरकारको जिम्मेवारी र कार्यान्वयनबीच तालमेलको कमी रहेको तथा पुराना भौतिक संरचनाहरू सुधार नगर्दा सेवा प्रभावकारी बन्न नसकेको बताए। उनीहरूले बढ्दो पूर्वाधार आवश्यकतासँगै पुराना प्रणालीहरू आधुनिक प्रविधिसँग मेल नखाने अवस्थाले थप समस्या सिर्जना गरेको धारणा राखे।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले पनि प्रविधिसँग अघि बढ्न पुराना संरचनाहरू बाधक बनेको उल्लेख गर्दै मर्मत सम्भार, प्राविधिक क्षमता अभिवृद्धि, नियमित अनुगमन तथा संरचनाको स्तरोन्नति मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो।

उहाँले वडा तथा टोल स्तरमा क्रियाशील उपभोक्ता समितिहरूले पानीको शुद्धता परीक्षणसँगै कानुनी दायित्व अनुसार जिम्मेवार ढंगले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै, सामुदायिक स्तरमा सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगरपालिका वास शाखाबीच समन्वय अभाव हुँदा अपेक्षित प्रगति हुन नसकेको पनि कार्यक्रममा उठाइएको थियो। यसको प्रभाव पानीको बिलिङ प्रणाली र राजस्व संकलनमा देखिँदै आएको तथा प्रयोगकर्ताबीच अविश्वास बढ्दै गएको सहभागीहरूले बताए।

दिसाजन्य लेदो व्यवस्थापनमा पनि चुनौती

सरसफाइतर्फ पनि हेटौंडा उपमहानगरपालिकाभित्र दिसाजन्य लेदो ९फेकल स्लज० व्यवस्थापनमा चुनौती कायम रहेको जनाइएको छ। डा. धितालले शौचालय निर्माणमा मात्र सीमित नभई सुरक्षित जग्गा पहिचान गरी प्रभावकारी प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, चिकित्सा तथा औद्योगिक जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि स्पष्ट प्रोटोकलको अभावले समस्या थप जटिल बनेको उहाँको भनाइ थियो।

सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कानुनी मान्यता, तालिम तथा व्यक्तिगत सुरक्षा सामग्री (PPE) को तत्काल व्यवस्था आवश्यक रहेको पनि उहाँको भनाइ थियो।

“अब कति धारा जडान भए भन्ने भन्दा कति सुरक्षित र भरपर्दो पानी वितरण भयो र कति फोहोर सुरक्षित रूपमा व्यवस्थापन गरियो भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ,” धितालले जोड दिनुभयो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले सफा पानीको पहुँच सुनिश्चित गर्न स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको बताउनुभयो।

उक्त कार्यक्रममा हेटौंडा खानेपानी बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटा, गैसस महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, खानेपानी तथा सरसफाइ उपभोक्ता नगर महासंघका प्रतिनिधि, विभिन्न वडाका उपभोक्ता समितिका पदाधिकारी तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दिएका सुझावहरूलाई सरोकारवाला निकायसम्म पुर्‍याई सुधार र प्रभावकारी कार्यान्वयनका लागि उपयोग गरिने राडो नेपालले जनाएको छ।

फोटोहरु : सन्जय न्यौपाने/हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार