६ बर्षदेखि धारामा पानी छैन, महिनैपिच्छे बील बुझाउन बाध्य

  वास खबर सम्बाददाता  109 पटक हेरिएको

विराटनगर : विराटनगर महानगरपालिका–६, सरोचियाटोलका करिब १० घरपरिवार विगत ७ वर्षदेखि खानेपानी सेवाबाट वञ्चित छन् । २०७६ सालमा फैलिएको कोरोना महामारीका बेला बन्द भएको धारा हालसम्म सञ्चालनमा आएको छैन ।

पानी नआए पनि महिनैपिच्छे खानेपानीको बिल भने तिर्न बाध्य छन् । “७ वर्षभन्दा बढी समय भयो, धारा सुख्खा छ तर बिल भने नियमित आउँछ,” स्थानीय अरसद हुसैनले भन्नुभयो। उहाँले पटक–पटक खानेपानी संस्थान विराटनगरमा जानकारी गराए पनि समस्या समाधान नभएको बताउनुभयो।

उहाँका अनुसार एक–दुई पटक मर्मतका लागि कर्मचारी आए पनि ‘मर्मत सम्भव छैन’ भन्दै फर्किएको र त्यसपछि नयाँ पाइप बिछ्याएपछि मात्र जडान हुने आश्वासन दिइएको थियो। तर, हालसम्म पाइप जडान नहुँदा समस्या यथावत रहेको उहाँको गुनासो छ ।

स्थानीय नैन मियाका अनुसार सडक निर्माणका क्रममा पुराना पानीका पाइप समेत हटाइएको थियो। “पानी नआए पनि बिल तिर्नैपर्छ, नत्र पछि जरिवाना लाग्ने डर हुन्छ,” उहाँले भन्नुभयो। उहाँले आफ्नो नाम काट्न आग्रह गर्दा पनि ‘पानी आउँछ’ भन्दै कार्यालयले बेवास्ता गर्ने गरेको आरोप लगाउनुभयो।

त्यस्तै, मोहम्मद आरिफ हुसैनले अहिले चापाकलको पानीको भरमा दैनिकी चलाउनुपरेको बताउनुभयो। “गर्मीमा कलको पानी पनि पर्याप्त हुँदैन, खानेपानी किनेर प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार दिउँसोको समयमा पानी अभाव झन् चर्किने गरेको छ।

स्थानीयले पटक–पटक गुनासो गर्दा पनि सम्बन्धित निकायले ठोस कदम नचालेको आरोप लगाउनुभयो। खानेपानी संस्थान विराटनगर शाखाले समेत चासो नलिएको प्रष्ट देखिन्छ । खानेपानी संस्थानले खानेपानी आपूर्तिका लागि नयाँ पाइप बिछ्याउने बताउँदै आएको थियो ।

अहिले विराटनगर खानेपानी सुधार आयोजना अन्तर्गत नयाँ पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको छ । तर, सातवर्षदेखि पानी नदिएर बिल मात्रै बुझाउन बाध्य बन्दै आएको यो टोलमा अहिले नयाँ पाइप विस्तार गर्ने काम पनि भएको छैन । अन्य सबैतिर पाइप विछ्याउँदा समेत यहाँ नयाँ पाइप लगाउने विषयमा कुनै चासो दिइएको छैन । धारा कायम हुँदा न्यूनतम महसुल बुझाउनु पर्ने भनाई छ ।

सुरक्षित पिउने पानी पु¥याउने जिम्मेवारी रहेको खानेपानी संस्थानले पाइप लाइन विस्तार गर्ने वा नगर्ने भन्ने विषय स्थानीयसँग छलफल गर्ने बताएको छ । पानी नदिने भन्ने चाँहि नहुने सहायक लेखाअधिकृत पदमहरी राईले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार