
काठमाडौं : नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागतमा उल्लेखनीय वृद्धि भएको अवस्थालाई ध्यानमा राख्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।
शनिबार जारी गरिएको विज्ञप्तिमार्फत महासंघले अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै कारणले उद्योग सञ्चालनमा गम्भीर चुनौतीहरू उत्पन्न भएको उल्लेख गर्दै हालको मूल्य संरचनामा निरन्तर सञ्चालन कठिन बन्दै गएको जानकारी दिएको हो। यस परिप्रेक्ष्यमा मूल्य समायोजन अपरिहार्य बन्न पुगेको महासंघको धारणा रहेको छ।
महासंघका अनुसार उत्पादन प्रक्रियामा प्रयोग हुने कच्चा पदार्थहरू, जस्तै बोतल, क्याप, र्यापिङ सामग्री, जार तथा जार क्यापको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भइसकेको छ। त्यससँगै पेट्रोलियम पदार्थ, विशेषगरी डिजेलको मूल्यवृद्धिले ढुवानी खर्चमा पनि उल्लेखनीय दबाब सिर्जना गरेको जनाइएको छ।
अन्तर्राष्ट्रिय स्तरमा देखिएको तनावपूर्ण परिस्थितिलाई समेत यस अवस्थाको प्रमुख कारणका रूपमा औंल्याइएको छ। विशेषग री इरान–इजरायल तथा इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको असरले कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष प्रभाव पारेको महासंघले जनाएको छ।
हाल देशभर करिब ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ। यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ र सुरक्षित तथा गुणस्तरीय पानी आपूर्ति मार्फत राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तर बढ्दो लागतका कारण उद्योगहरू संकटमा पर्न सक्ने चिन्ता महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले व्यक्त गर्नुभएको छ।
विज्ञप्तिमा यस निर्णयलाई नाफा कमाउने उद्देश्यले नभई बढ्दो उत्पादन लागत, ढुवानी खर्च तथा कच्चा पदार्थको मूल्यवृद्धिबाट सिर्जित बाध्यात्मक परिस्थितिको परिणामका रूपमा प्रस्तुत गरिएको छ। हालको मूल्यमा बिक्री वितरण जारी राख्दा उद्योग सञ्चालन सम्भव नभएको निष्कर्षमा महासंघ पुगेको जनाएको छ।
महासंघले आफ्ना सदस्य उद्योगहरूलाई लागत वृद्धिको अनुपातमा उचित मूल्य समायोजन गर्दै सेवा निरन्तरता कायम राख्न अनुरोध गरेको छ। साथै, सरकारसँग उद्योगमैत्री नीति निर्माण, कच्चा पदार्थको सुनिश्चित आपूर्ति तथा ढुवानी खर्च नियन्त्रणका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ।
हेर्नुहोस् विज्ञप्ती :



133 पटक हेरिएको 

