पर्वतको मोदीमा बोरिङ लिफ्ट खानेपानी आयोजना सुरु

  वास खबर सम्बाददाता  276 पटक हेरिएको
🔗
11
Shares

पर्वत : पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङ प्रविधि मार्फत लिफ्ट खानेपानी आयोजना सुरु भएको छ। मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङरलिफ्ट खानेपानी आयोजनाको काम औपचारिक रूपमा सुरु गरिएको हो।

गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका मोदी–६ तिलहार, थामर्जुङ र दराक क्षेत्रका बासिन्दालाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजना अघि बढाइएको हो। उहाँका अनुसार बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङ मार्फत पानी उत्खनन गरिनेछ र सो पानीलाई झन्डै एक किलोमिटर माथि डाँडामा निर्माण हुने ट्यांकीमा लिफ्ट प्रणाली मार्फत पुर्‍याइनेछ। त्यहाँबाट घरघरमा वितरण गरिने व्यवस्था मिलाइनेछ।

यो आयोजनाबाट करिब एक हजार घरधुरी लाभान्वित हुने लक्ष्य राखिएको भए पनि तत्कालका लागि अति समस्यामा परेका करिब दुई सय घरधुरीमा सेवा विस्तार गरिने योजना रहेको उपाध्यक्ष लामिछानेले बताउनुभयो।

आयोजनाको कुल लागत करिब ४३ लाख रुपैयाँ रहनेछ। जसमा मोदी गाउँपालिकाको २५ लाख, गण्डकी प्रदेश सरकारको १५ लाख र उपभोक्ताहरूको तीन लाख बराबरको श्रमदान समावेश छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका अनुसार चालु आर्थिक वर्षभित्रै सबै लक्षित घरधुरीमा खानेपानी सेवा विस्तार गर्ने गरी काम अघि बढाइएको छ। उहाँले अहिले पानीको अभाव हुने सिजन भएकाले पर्याप्त जनशक्ति र उपकरण परिचालन गरी तीव्र गतिमा काम गर्न निर्देशन दिइएको पनि जानकारी दिनुभयो।

योजना अन्तर्गत बोरिङ गरिएको स्थानभन्दा करिब तीन सय मिटर माथि देउराली, मणि र पहरे गरी तीन स्थानमा ट्यांकी निर्माण गरिएको छ। मुख्य ट्यांकीको क्षमता ३० हजार लिटर रहेको छ भने दुईवटा शाखा ट्यांकी प्रत्येक १ हजार ५ सय लिटर क्षमताका छन्।

वडाध्यक्ष दीपेन्द्रजंग लामिछानेका अनुसार यसअघि पनि मोदी र फलेवासका केही क्षेत्रमा बोरिङ प्रविधिबाट खानेपानी आपूर्ति गरिएको अनुभव छ। उहाँका अनुसार अन्य समयमा मुहान तथा स्रोतबाट पानी उपलब्ध भए पनि चैतदेखि जेठसम्मको खडेरीमा पानीको चरम अभाव हुने भएकाले बोरिङ प्रविधि प्रभावकारी र सस्तो विकल्पका रूपमा देखिएको छ।

उहाँले आयोजना सम्पन्न भएपछि स्थानीयलाई पानीका लागि खोला–खोल्सा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार