खानेपानी तथा सरसफाइ सेवा अभिवृद्धिका लागि २५ वटा सेवा प्रदायकहरुको तालिम हुँदै

  वास खबर संवाददाता  322 पटक हेरिएको

भक्तपुर, नगरकोट : खानेपानी तथा सरसफाइ सेवा अभिवृद्धिका लागि सेवा प्रदायकहरुको क्षमता विकास तालिम सञ्चालन भैरहेको छ ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रबर्तन तथा क्षमता अभिवृद्धि केन्द्र नगरकोट संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) को संयुक्त आयोजनामा खानेपानी तथा उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका प्रतिनिधिहरूका लागि तालिम भैरहेको हो ।

तीन दिनसम्म सञ्चालन हुने तालिमको पहिलो दिन विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । राष्ट्रिय सानासहकारी महासंघका अध्यक्ष खेम ओली, नगर विकास कोषका खानेपानी तथा सरसफाइ विज्ञ सुभाषराज पन्त, खानेपानी विज्ञ चोकप्रसाद धिताल, कमल अधिकारी, खानेपानी मन्त्रालयका प्रतिनिधि योगेन्द्र चित्रकार, खानेपानी विभागका सुरत बम तथा तालिम केन्द्रका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले सहभागीहरुलाई विषयगत प्रस्तुति दिनुभएको थियो ।

सेवा प्रदायकहरुको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी गराउनुभयो।

तालिममा विशेष गरी नेतृत्व विकास, प्रभावकारी नेतृत्व कसरी लिने, कर्मचारीसँग कस्तो व्यवहार गर्ने, तथा सम्बन्धित निकायहरूसँग समन्वय कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । ‘खानेपानी तथा सरसफाइसँग सम्बन्धित विद्यमान कानुन र नीति अनुसार कार्य सञ्चालन गर्ने तरिका, जनशक्ति व्यवस्थापन, तथा संस्थागत सुधारका उपायहरूबारे पनि प्रशिक्षण गरिएको छ’ उहाँले भन्नुभयो।

तालिममा विवाद समाधानका उपाय र मेकानिज्म, आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापन, स्रोत व्यवस्थापन तथा उपलब्ध स्रोतअनुसार सेवा सञ्चालन गर्ने तरिकाबारे पनि सहभागीहरूलाई प्रशिक्षण दिईनेछ।

कार्यक्रममा पानीको स्रोत संरक्षण, वर्षा पानी संकलन, तथा अटोमेटिक प्रणाली मार्फत सेवा सञ्चालन गर्ने विषयमा पनि प्रशिक्षण गराईनेछ । यसका साथै, उपभोक्ता समितिबाट आवश्यक सामग्री खरिद गर्दा अपनाउनुपर्ने प्रक्रिया, ठेक्का व्यवस्थापन तथा योजना कार्यान्वयनमा समितिको भूमिकाबारे पनि छलफल गरिनेछ।

तालिममा खानेपानीको गुणस्तर कायम गर्ने, सुरक्षित तथा दिगो रूपमा पानी वितरण गर्ने, र सेवा सबै उपभोक्तासम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयलाई पनि प्राथमिकतामा राखिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार तालिमले उपभोक्ता समिति र व्यवस्थापन बोर्डको क्षमता अभिवृद्धि भई खानेपानी तथा सरसफाइ सेवाको प्रभावकारिता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

तालिममा  खानेपानी उपभोक्ता समिति रखानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गरी २५ सेवा प्रदायक संस्थाका ४० जनाले सहभागिता जनाएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार