गण्डकी प्रदेशको वातावरण मन्त्रालयद्वारा कोराला नाकाका व्यापारीलाई डस्टबिन वितरण

  वास खबर समाचारदाता  96 पटक हेरिएको

मुक्तिनाथ : उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार गर्ने स्थानीयलाई सफा र स्वच्छ कोरला बनाउन डस्टबिन बितरण गरिएको छ ।

दैनिक कोरला नाकाको भ्रमणमा आउने पर्यटक तथा ब्यापारीले गर्ने फोहोर ब्यवस्थापनमा चुनौती थपिएपछि दुर्गन्धबाट जोगाउन सरसफाईसहित फोहोर ब्यवस्थापनमा स्थानीय ब्यवसायीलाई सचेत बनाउने अभियान सञ्चालन गरिएको हो ।

गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय लोमान्थाङको आयोजनामा फोहोर ब्यवस्थापनका लागि आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री नम्डु गुरूङले १५ थान डस्टबिन वितरण गर्नुभएको थियो । प्रदेशमन्त्री गुरूङले फोहोर ब्यवस्थापनमा सरकारी निकायको प्रयासले मात्र पर्याप्त नहुने बताउनुभयो ।

मन्त्री गुरूङले भन्नुभयो, ‘‘सफा र सुन्दर कोरला नाका बनाउन सबैभन्दा बढी ब्यवसायीको सक्रियता आवश्यक पर्छ, आवश्यक स्रोत साधन जुटाउन सरकारी निकायले सहकार्य गर्ने छ ।’’

मन्त्री गुरूङले कोरला नाकामा आउने पर्यटकबाट हुने फोहोरलाई न्यूनीकरण गर्न सचेतनामुलक अभियानमा समेत स्थानीय सरोकारवाला निकायले समुदायलाई साथ दिनुपर्ने बताउनुभयो । मन्त्री गुरूङले कोरला नाकामा दीर्घकालीन फोहोर ब्यवस्थापनका योजनामा काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

सोही अवसरमा एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले पर्यटकको गन्तब्य बनेको कोरला नाकामा फोहोर सङ्कलन गर्न फलामको डस्टबिन राखेर कुहिने/नकुहिने छुट्याउने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, योजना महाशाखा प्रमुख पुणेश्वर सुबेदी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कोरला नाकामा संकलन हुने फोहोरको दीर्घकालीन समस्या समाधानका लागि डम्पिङ साइडको निर्माण/व्यवस्थापन गर्न समेत स्थानीय ब्यवसायीले माग गरेका छन् । समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला क्षेत्रमा ६ सय रोपनी क्षेत्रफल रहेको छ । गोरखापत्रबाट।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार