
हुम्ला : नेपाल–चीन सीमास्थित हिल्सामा विभिन्न व्यवसाय गर्दै आएका स्थानीयले अनेक समस्या सहेर बस्नुपरेको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा हिल्सा पुगेको टोलीसँगको छलफलमा हिल्सावासीले आफूहरूले भोगिरहेका समस्या राखेका हुन् ।
हिल्सामा होटल व्यवसाय सञ्चालन गर्दै आएका डुक्सुन्डुप लामाले खानेपानी र स्वास्थ्य सेवा अभावले चरम समस्या भोग्नुपरेको बताउनुभयो । हिल्साबाट चीनको ताक्लाकोट नजिकै भए पनि चिनियाँ पक्षले बिरामीलाई उपचारका लागि त्यहाँ जान नदिने र सिमकोट पुग्न समय लाग्ने भएकाले उपचारमा कठिनाइ हुने गरेको उहाँको भनाइ छ । छ महिना अघि एक बिरामीलाई सिमकोट लैजाँदै गर्दा बाटोमै मृत्यु भएको घटना पनि उहाँले सुनाउनुभयो ।
खानेपानीको उचित व्यवस्था नभएकाले स्थानीयले नौमुलेमा पानी भर्न भाँडा बोकेर लाइन बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । यस्तै, हिउँदमा पटक–पटक हुने हिमपातका कारण नारा खण्डको सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द हुने र आवतजावतमा समस्या हुने गरेको अर्का स्थानीय मकुम लामाले बताउनुभयो ।
चीनको ताक्लाकोटबाट सामान ल्याउन कडाइ भएका कारण एक जनाले एउटा झोलामा सीमित सामान मात्र ल्याउन पाउने नियमले जीवन कठिन बनेको उहाँले गुनासो गर्नुभयो । आवश्यक सामग्री सहज रूपमा ल्याउन पाउने व्यवस्था मिलाइदिन उहाँले प्रमुख जिल्ला अधिकारीसँग माग गर्नुभयो ।
हिल्सामा रहेका बालबालिका पठनपाठनबाट वञ्चित हुनुपरेको पनि स्थानीयको गुनासो छ । अर्की स्थानीय डोल्मा लामाले मोबाइल सेवा भए पनि फोरजी सेवा नहुँदा महँगो शुल्क तिरेर चिनियाँ सिम प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले नारा लेक क्षेत्रमा फोरजी सेवा विस्तारका लागि पहल गर्न आग्रह गर्नुभयो । साथै, नुनजस्ता आधारभूत सामग्रीको समेत अभाव रहेको उहाँले बताउनुभयो ।
हिल्सावासीका समस्या बुझ्न प्रमुख जिल्ला अधिकारी रेग्मीले उक्त भेटघाट कार्यक्रम आयोजना गर्नुभएको हो । सो अवसरमा उहाँले अधिकांश समस्याको समाधानका लागि सदरमुकाम सिमकोट फर्किएपछि पहल गर्ने र केही विषय तत्काल सम्बोधन गर्ने बताउनुभयो ।
हाल हिल्सामा होटल व्यवसायी, किराना पसल सञ्चालक तथा अन्य काम गर्ने गरी करिब ३५ परिवार बसोबास गर्दै आएका छन् ।


95 पटक हेरिएको 

