साढे २५ करोड लागतको खानेपानी योजनाको शिलान्यास

  वास खबर सम्बाददाता  106 पटक हेरिएको

सल्यान : सल्यानको शारदा नगरपालिकामा तीन वडाका करिब एक हजार दुई सय घरधुरीमा सुरक्षित खानेपानी सेवा पुर्‍याउने लक्ष्य सहित खानेपानी आयोजना निर्माण सुरु गरिएको छ । २५ करोड ४३ लाख रुपियाँ लागतको बहुप्रतिक्षित खैरावाङ सामुदायिक खानेपानी आयोजनाको बिहीबार शिलान्यास गरिएको छ।

यस आयोजना सम्पन्न भएपछि वडा नं. १, ११ र १२ का एक हजार दुई सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने नगरपालिकाले जनाएको छ । हालसम्म खानेपानीको अभाव झेल्नु परिरहेको भन्दै खैरावाङ खानेपानी आयोजनाका उपभोक्ता समिति अध्यक्ष प्रेमबहादुर वलीले यो आयोजना दीर्घकालीन समाधानका रूपमा हेरिएको बताउनुभयो।

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी र उपप्रमुख सुस्मिता सापकोटाले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले यस आयोजनाले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समयमै गुणस्तरीय रूपमा आयोजना सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिँदै नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उपप्रमुख सापकोटाले पनि आयोजना सम्पन्न भएपछि वर्षौँदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधान हुने बताउँदै स्थानीयवासीलाई आयोजना संरक्षणमा सक्रिय हुन आग्रह गर्नुभयो ।

शारदा नगरपालिकाको कुल २५ करोड ४३ लाख रुपियाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको ठेक्का रकम भ्याटसहित १७ करोड ८५ लाख ४९ हजार ८७५ रुपियाँ रहेको छ । निर्माण कम्पनीका अनुसार सम्झौता मिति २०८४ भदौ ७ गतेभित्र आयोजना सम्पन्न गरिने छ ।

शिलान्यास कार्यक्रममा नगर प्रवक्ता राजेशकुमार शर्मा, आयोजना व्यवस्थापक दीपक महर्जन, नगरपालिका सहयोगी टिम लिडर प्रेमराज श्रेष्ठ, बास इन्जिनियर खगेन्द्र मल्ल, समाजसेवीहरू मनोज सिंह, अरविन्द राई, तुल्सी बस्नेत, निर्माण व्यवसायी प्रवीर डाँगी, वडा नं. ११ का पूर्व वडाध्यक्ष रामसिंह बुढाथोकी, खैरावाङ मन्दिर व्यवस्थापन समिति अध्यक्ष छवि शर्मा, पत्रकार, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नगरपालिकाको पहल र ठुलो लगानीमा सुरु गरिएको यस आयोजनाले स्वास्थ्य, सरसफाइ र समग्र जीवनशैली सुधारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार