नयाँ कार्यसमिति चयन गर्न चुनावमा होमियो, घोराही खानेपानी उपभोक्ता संस्था

  वास खबर समाचारदाता  125 पटक हेरिएको

दाङ : २०७९ असार २७ गते घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा सातौं पटक निर्वाचित हुनु भयो ७३ वर्षका देवीबहादुर डाँगी ।

१८ वर्ष संस्थाको नेतृत्व गरिसक्नु भएका डाँगी तीन वर्षका लागि अध्यक्षमा चुनिनु भएको थियो। तर अध्यक्ष डिसीले कार्यकाल पूरा गर्न नपाउँदै गत २०८२ साल कार्तिक १७ गते उहाँको निधन भयो। क्यान्सरबाट पीडित डिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा निधन भएको थियो ।

तिनै घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष लगायत कार्यकारी समिति चयन गर्न यत्तिबेला चुनावमा होमिएको छ । ९औं अधिवेशन तथा २५ औं साधारण सभाको उदघाटन सत्र आज सम्पन्न भएको छ ।

उदघाटन समारोहका प्रमुख अतिथि एवं राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्रका कार्यकारी निर्देशक ई. राम कुमार श्रेष्ठले खानेपानी उपभोक्ता संस्थाहरुले उपलब्ध गराउँदै आएको खानेपानी सेवामा उपभोक्ताहरुको स्वास्थ्य निर्भर रहने हुँदा सुरक्षित खानेपानी मात्र वितरण गर्न आग्रह गर्नुभयो।

उहाँले खानेपानी उपभोक्ता संस्थाहरुले उत्कृष्ट सेवा प्रदान गर्दै आएको र उपभोक्ता संस्थाहरुले झेल्दै आएको समस्याहरु समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

उदघाटन समारोहमा खानेपानीको नियमित महसुल भुक्तानी गर्ने ग्राहक, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्था, पानीको किफायती उपभोग गर्ने उपभोक्ता लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट सिडिई देवेन्द्र कुमार झा, क्षेत्रीय शहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय नेपालगन्जका प्रमुख मनिष कुमार राज, तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, लमही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, राष्ट्रिय साना सहरी खानेपानी महासंघका प्रतिनिधि, दाङ स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र उपभोक्ताहरुको सहभागिता थियो ।

संस्थाले भोलि निर्वाचन मार्फत आगामी तीन बर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार