
बागलुङ : बागलुङ स्थित धौलागिरि प्रादेशिक अस्पतालमा एक लाख लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की निर्माण हुने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाख रुपियाँ लागतमा उक्त ट्याङ्की निर्माण गरिने भएको हो ।
खानेपानी ट्याङ्की निर्माणका लागि धौलागिरि प्रादेशिक अस्पताल र रोटरी क्लब अफ बागलुङ बीच बुधबार सम्झौता भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा र क्लबका अध्यक्ष नारायणप्रसाद गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको अस्पतालका पूर्वअध्यक्ष केबी रानामगरले जानकारी दिनुभयो ।
बढ्दो बिरामी चाप र विशिष्टिकृत सेवा विस्तारसँगै अस्पतालमा पानीको अभाव नहोस् भन्ने उद्देश्यले ट्याङ्की निर्माण गर्न लागिएको हो । ओभरहेड ट्याङ्की बनेपछि अस्पतालमा आवश्यक पानी आपूर्ति सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। किरण तिवारीले बताउनुभयो ।
अस्पतालमा पानी आपूर्ति सहज बनाउन अमेरिकास्थित रोटरी क्लब अफ सुसिट्ना (अलास्का) र रोटरी डिस्ट्रिकको साझेदारीमा परियोजना अघि बढाइएको क्लबका अध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य कार्यान्वयनमा जानेछ ।
सम्झौतामा अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू कृष्णबहादुर केसी, केबी राना मगर, सदस्य लक्ष्मी बाँस्कोटा, शालिकग्राम शर्मा, मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी र क्लबका आगामी अध्यक्ष पुनम प्रसाद शर्माको उपस्थितिमा परियोजना संयोजक दिपेन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको धाराको पानी पर्याप्त नभएपछि पाँच वर्षअघि सामाजिक विकास मन्त्रालयको ४० लाख रुपैयाँ बजेटमा डिप बोरिङ प्रविधिबाट अस्पतालले पानी आपूर्ति गर्दै आएको छ ।
बोरिङ गरिएको पानी अब ओभरहेड ट्याङ्कीमा संकलन गरी वितरण गरिनेछ । परियोजनाले अस्पतालको खानेपानी आपूर्ति प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । यस संरचनाबाट वार्षिक करिब २ लाख ७० हजार बिरामी तथा अस्पतालका कर्मचारी लाभान्वित हुने लक्ष्य राखिएको छ ।
सम्झौता अनुसार अन्तर्राष्ट्रिय साझेदार संस्थासँग समन्वय, बोलपत्र प्रक्रिया सञ्चालन, निर्माण अनुगमन तथा पारदर्शिता सुनिश्चित गर्ने जिम्मेवारी पनि उल्लेख गरिएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।
अस्पतालले ट्याङ्की निर्माणका लागि स्थान उपलब्ध गराउने, डिप बोरिङ प्रणाली सञ्चालनमा राख्ने र परियोजना सम्पन्न भएपछि संरचनाको स्वामित्व ग्रहण गर्नेछ । साथै, दीर्घकालीन सञ्चालन, मर्मत तथा सुधार कार्यको जिम्मेवारी अस्पताल व्यवस्थापन समितिले वहन गर्ने सम्झौतामा उल्लेख छ ।


378 पटक हेरिएको 

