११ बर्षसम्म थला परेको बरहथवा खानेपानी आयोजना पुनः सञ्चालनको चरणमा, युनिसेफको सहयोगमा दीगो सेवा विस्तार

  वास खबर समाचारदाता  155 पटक हेरिएको

सर्लाही  : सर्लाही जिल्लाको बरहथवा नगरपालिकास्थित बरहथवा खानेपानी आयोजना करिब ११ वर्षपछि पुनः सञ्चालनतर्फ अग्रसर भएको छ। लामो समयदेखि अवरुद्ध अवस्थामा रहेको आयोजना अहिले पुनर्स्थापना, सेवा विस्तार र संस्थागत सुदृढीकरणसहित नयाँ गतिमा अघि बढिरहेको छ।

वि.सं. २०५३ मा निर्माण सुरु भएको आयोजना विभिन्न प्राविधिक तथा व्यवस्थापकीय चुनौतीका कारण नियमित रूपमा सञ्चालन हुन सकेको थिएन। हाल भने युनिसेफको प्राविधिक सहयोग, बरहथवा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहकार्य र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति (WUC) को सक्रिय सहभागितामा पुनः सञ्चालनको कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

युनिसेफको सहयोग: क्षमता अभिवृद्धि र योजना तयारी

बरहथवा नगरपालिकाको आर्थिक सहयोगमा आयोजनाअन्तर्गत करिब ३५ किलोमिटर पाइपलाइन प्रतिस्थापन तथा विस्तार गरिएको छ। हालसम्म २२५ घरधुरीमा मिटर सहित धारा जडान सम्पन्न भइसकेको छ। सेवा विस्तार अभियानलाई तीव्र बनाउँदै आगामी वि.सं. २०८३ भित्र करिब २,५०० थप घरधुरीमा व्यवस्थित खानेपानी सेवा पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ।

आयोजनामा भूमिगत स्रोतबाट प्राप्त पानीलाई विद्युतचालित पम्पिङ प्रणाली मार्फत ओभरहेड ट्यांकीमा संचित गरी सो पानीलाई पाइप सञ्जालमार्फत उपभोक्तासम्म वितरण गर्ने व्यवस्था गरिएको छ। आयोजनाको ओभरहेड ट्यांकीको क्षमता करिब ४ लाख ५० हजार लिटर रहेको छ।

युनिसेफले आयोजनाको पूर्वाधार सुधारसँगै संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सञ्चालन, मर्मत–सम्भार, वित्तीय व्यवस्थापन तथा सेवा गुणस्तर सुधारसम्बन्धी तालिम प्रदान गरिएको छ।

यसै क्रममा सुरक्षित खानेपानीयुक्त समुदाय (Water Safe Community), खानेपानी सुरक्षा योजना (Water Safety Plan) र व्यवसायिक योजना निर्माण (Business Development Plan) सम्बन्धी ४ दिने कार्यशाला सञ्चालन गरिएको थियो, जसमा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सरोकारवाला तथा निजी क्षेत्रका गरी  ३४ जनाको सहभागिता रहेको थियो।

बरहथवा नगरपालिकामा समुदायस्तरमा सुरक्षित खानेपानीयुक्त समुदाय (WSC) अवधारणाअनुरूप विभिन्न अभियानहरू सञ्चालन भइरहेका छन्। यसअन्तर्गत सरसफाइ व्यवहार प्रवर्द्धन, नियमित हात धुने बानीको विकास, सुरक्षित खानेपानी प्रयोग तथा स्थानीय स्तरमै खानेपानी व्यवस्थापन प्रणाली सुदृढीकरणमा केन्द्रित गतिविधिहरू अघि बढाइएका छन्।

युनिसेफको सहकार्यमा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) निर्माण तथा कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ। साथै, नगरपालिकाले खानेपानी तथा सरसफाइ ऐन, २०८२ निर्माण गरिसकेको छ भने “सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यविधि” र “खुला दिसामुक्त क्षेत्र दिगोपन कार्यविधि” को मस्यौदा तयार भई कार्यान्वयनको तयारीमा रहेको छ।

पानी गुणस्तर अनुगमन प्रणाली विकास र नियमित परीक्षणमा प्राथमिकता दिइएको छ। सुरक्षित, स्वच्छ र विश्वसनीय पानी आपूर्ति सुनिश्चित गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधारहरू अघि बढाइएका छन्।

उच्च आशा, चुनौती बाँकी

लामो समयपछि आयोजनाले पुनः गति लिएसँगै स्थानीयवासीहरू अत्यन्त उत्साहित र आशावादी देखिएका छन्। नियमित र सुरक्षित खानेपानी सेवा प्राप्त हुनेमा उनीहरूको विश्वास बढेको छ।

यद्यपि विद्युत आपूर्ति, वित्तीय व्यवस्थापन, सेवा निरन्तरता र प्राविधिक सुदृढीकरणजस्ता केही चुनौतीहरू अझै रहेका छन्। ती चुनौतीहरूको समाधान गर्दै दीगो सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायहरू सक्रिय रहेका छन्।

युनिसेफको प्राविधिक सहयोग, नगरपालिकाको प्रतिबद्धता र समुदायको सक्रिय सहभागिताले बरहथवा खानेपानी आयोजना पुनर्जीवित हुँदै गएको छ। क्षमता अभिवृद्धि, योजना निर्माण, नीतिगत सुधार र समुदाय परिचालनका एकीकृत प्रयासहरूले यस आयोजनालाई भविष्यमा सुरक्षित, भरपर्दो र दीगो खानेपानी सेवाको नमुना बनाउने अपेक्षा गरिएको छ।

फोटोहरु : अन्नपूर्ण मिश्र/युनिसेफ नेपाल


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार