विदेशी विनिमय दर बढ्दा खानेपानी उपभोक्ता समितिले लिएको ऋणको ब्याज घटाउन सकिदैन : सांसद वैदिक

  वास खबर समाचारदाता  280 पटक हेरिएको
🔗
53
Shares

काठमाडौ : प्रतिनिधिसभा सदस्य सुशान्त वैदिकले विदेशी विनिमय दर बढ्दा नगर विकास कोष मार्फत खानेपानी उपभोक्ता समितिले लिएको ऋणको ब्याज घटाउन नसकिने बताउनु भएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको सातौं साधारण सभाको उदघाटन सत्रमा सांसद वैदिकले डलरको भाउ बढ्दा सरकारले ऋणको ब्याज बढी तिर्नुपर्ने अवस्था रहेकाले ऋणको व्याज घटाउन नसकिने बताउनुभयो।

सरकार र दातृ निकाय बीचको सम्झौता बमोजिम ब्याज निर्धारण गरिएकाले यो सरकारले चाहदैमा मात्र पनि तत्काल ऋणको ब्याज घटाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो । यद्यपि यस बिषयमा आफू सकारात्मक रहेको बताउनुभयो।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले उपभोक्ता समितिले खानेपानी आयोजना निर्माणका लागि नगर विकास कोष बाट लिएको ऋणको ब्याज कम हुनुपर्ने माग गर्दै आएको छ ।

सांसद वैदिकले कृषिमा विद्युत महसुलमा छुट हुने, कतिपय उद्योगमा पनि महसुल छुट हुने, तर खानेपानी उत्पादन र प्रशोधनमा लाग्ने विद्युत महसुलमा छुट नहुने कुरा अत्यन्तै अव्यवहारिक रहेको उहाँले बताउनुभयो। खानेपानी आधारभूत आवश्यकता भएकै कारण आफ्नो पार्टीको वाचा पत्रमा समेत खानेपानीलाई प्राथमिकतामा राखिएको तथा सरकारको नीति तथा कार्यक्रममा समेत २०८७ साल सम्ममा सम्पूर्ण नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्यका साथ कार्यकम कार्यान्वयन गरिने उल्लेख रहेको स्मरण गराउनुभयो।

कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष खेमराज वलीले खानेपानी महसुलमा सरकारले लिने २५ प्रतिशत कर छुट हुनुपर्ने बताउनुभयो। उहाँले गैरनाफामुलक उपभोक्ता समितिहरुले खानेपानी मर्मत सम्भारका लागि जोगाएर राखेको महसुलमा समेत कर लगाउने काम अन्यायपूर्ण भएकाले छुट हुनुपर्ने बताउनुभयो।

सरकारले खानेपानीमा लगाउँदै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने, कर तथा भ्याट छुट गराउनुपर्ने, विद्युत् महसुलमा सहुलियत दिनुपर्ने, नगर विकास कोषबाट लिइने ऋणको ब्याजदर घटाउनुपर्ने, आयोजना निर्माणमा जनसहभागिताको रकम कम गर्नुपर्ने तथा नेपालमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्नुपर्ने जस्ता माग राख्दै महासंघले नियमित खबरदारी गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार