पानीको पहुँच र गुणस्तर सुधारका प्रयासहरू परियोजनाका बिषयमा कार्यशाला  

  वास खबर समाचारदाता  511 पटक हेरिएको
🔗
182
Shares

ललितपुर : गोदावरी नगरपालिका,  ललितपुरमा पानीको पहुँच र गुणस्तर सुधारका प्रयासहरू (सम्भाव्यता अध्ययन)’ परियोजनाको नतिजा सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले एक दिने कार्यशाला आयोजना गरेको छ।

हेड नेपाल र ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नम्बर १४ कार्यालय. गोदावरी नगरपालिका, ललितपुरको सहकार्यमा सञ्चालित कार्यशालामा परियोजनाका प्रमुख गतिविधिहरूको नतिजा विषय विज्ञहरूले प्रस्तुत गरेका  थिए।

६ महिना अवधिको यो परियोजना हेड नेपालले सिंगापुरमा रहेको Lien Foundation को आर्थिक सहयोगमा Lien Environmental Fellowship अन्तर्गत NEWRI, NTU, Singapore ले LEF Fellow हेड नेपालका निर्देशक डा. मखन महर्जनलाई प्रदान गरिएको परियोजना हो। कार्यशालामा, LEF का सिंगापुरकी कार्यक्रम प्रबन्धक Josephine Chow ले LEF ले स्थानीय समुदायहरूमा सुरक्षित पिउने पानीमा पहुँच बढाउन नेपाल सहित १२ दक्षिण पूर्वी एसियाली देशहरूमा काम गरिरहेको बताउनु भयो।

हेड नेपालका निर्देशक डा. मखन महर्जनले परियोजनाको पृष्ठभूमि, उद्देश्य र यस अवधिमा गरिएका गतिविधिहरूको बारेमा जानकारी दिनुभयो।

गोदावरी नगरपालिका, ललितपुरको वडा नम्बर १४ का अध्यक्ष निरोज बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यशालामा प्रमुख अतिथि बज्राचार्यले शहरीकरण र जनसंख्या वृद्धिका कारण पानीको मागमा वृद्धि तर पानीका स्रोतहरू सुक्ने गरेको र पानी अभावको समस्या बढेको हुंदा पानीको स्रोत संरक्षण र पानी आपूर्ति प्रणालीको व्यवस्थापनका लागि गरिएका प्रयासहरूको प्रशंसा गर्दै उपभोक्ताहरूलाई सुरक्षित पानी वितरण सम्बन्धित कामहरू प्राथमिकताका साथ गर्नुपर्नेमा जोड दिनुभयो।

ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठका अनुसार समितिले २,३०० धाराहरू मार्फत ६,५०० परिवारका लगभग ३०,००० जनसंख्यालाई दिनमा १२ देखि १३ लाख लिटर पानी वितरण गरिरहेको र पानीको माग बढिरहेको बताउनुभयो।

साथै उहाँले १० युनिटसम्म पानीको प्रति युनिट १० रुपैयाँ र २६ युनिट वा सो भन्दा माथि पानीको प्रति युनिट ५० रुपैयाँ पानी शुल्क निर्धारण गरिएको बताउनुभयो। समितिले खानेपानी प्रणालीको मर्मत सम्भारको लागि छुट्टै बैंक खाता खोलेको छ जुन महत्त्वपूर्ण र प्रशंसनीय छ।

कार्यशालामा परियोजनाका प्रमुख गतिविधिहरूका नतिजा विषय विज्ञहरूले सात वटा प्रस्तुतीकरणहरू मार्फत सहभागीहरूलाई साझा गरिएको थियो।

जसमा (१) गोदावरी नगरपालिकाको वडा नम्बर १४ का समुदाय, विद्यालय र स्वास्थ्य सेवा सुविधाहरूमा पानी, सरसफाइ र स्वच्छतासँग सम्बन्धित KAP सर्वेक्षण,

(२) स्थानीय समुदायका महिला समूहहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकहरू र विद्यार्थीहरूमा पानी, सरसफाइ र स्वच्छता शिक्षा र क्षमता निर्माणसँग सम्बन्धित अभिमुखीकरण र मूल्याङ्कन,

(३) पानी सुरक्षा योजना कार्यान्वयनका लागि ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र अन्य सरोकारवालाहरूको क्षमता अभिवृद्धि,

(४) पानी स्रोतहरूको जलभौगोलिक सर्वेक्षण,

(५) पानी आपूर्ति प्रणालीको स्थलकृतिक सर्वेक्षण,

(६) पानीको गुणस्तर सुधारका लागि सम्भावित उपायहरू,

(७) खानेपानी आपूर्ति प्रणालीका बाढी प्रभावित पूर्वाधारको पुनर्स्थापनाको लागि डिजाइन र लागत अनुमान तयार समावेश थिए।

कार्यक्रममा गोदावरी नगरपालिकाको वडा नम्बर १४ कार्यालयका स्थानीय जनप्रतिनिधि, गोदावरी नगरपालिकाका प्राविधिक, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसैगरी नेपाल रेडक्रस सोसाइटी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, स्थानीय महिला समूहहरू, शिक्षकहरू, विद्यार्थीहरू, गैर-सरकारी संस्थाहरूको प्रतिनिधिहरू र ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्य समितिका पदाधिकारीहरु समेत गरी ४३ जना सहभागी थिए।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार