
बुटवल : बुटवलमा झुम्सा खानेपानी आयोजनाको चर्चा चल्न थालेको ३० वर्ष बढी भइसक्यो । तर अझै खानेपानी समस्या समाधान भएको छैन । २०५२र५३ सालमा पाल्पाको हालको तिनाउ गाउँपालिका झुम्सास्थित सिस्ने खोलाबाट खानेपानी ल्याउने योजना बन्यो । त्यसबेला बुटवलमा पानी ल्याउन सर्भे समेत भएको थियो । सरकारले सुरुवातमा विनियोजन गरेको बजेटबाट पाइप किन्ने मात्र काम भएको थियो ।
एक दशकपछि सिस्ने खोलाले बुटवलवासीको माग नधान्ने भन्दै खानेपानीको मुहान परिवर्तन गरियो । २०६५/६६ तिर झुम्सा खोलाको पानी बुटवल ल्याउने योजना अघि बढ्यो । जसअनुसार खानेपानीको मुहान क्षेत्रमा ड्याम निर्माण गरियो । तर २०७३ साल साउनमा आएको बाढीले ड्याम, पाइपलाइन विस्तार लगायतका संचरना भत्काइदियो ।
२०७७ सालमा ड्याम निर्माणलगायतका लागि नयाँ ठेक्का सम्झौता भयोे । पाल्पातिर ड्याम निर्माणका लागि रामेछाप सेर्पा कन्ट्रक्सनले ठेक्का लिएको थियो । बुटवलतिर पाइपलाइन विस्तार र ट्यांकी निर्माणका लागि कालिका एन्ड कन्काइ जेभीसँग ठेक्का सम्झौता भएको हो । खानेपानी ड्याम निर्माणको काम २०७८ साल मंसिरमै सम्पन्न भएको थियो । तर पाइप विस्तारको काममा ढिलाइ हुँदा बुटवलमा झुम्साको खानेपानी आउन सकेको छैन ।
बिचमा २०८० माघमा पाइपलाइनको पुल भाँचिएर केही ढिलाइ भएको झुम्सा खानेपानी आयोजना प्रमुख मन्दीप श्रेष्ठले बताए । पाइप विस्तारको ९० प्रतिशत सकिएको तीनवटा पुल बन्न बाँकी रहेको श्रेष्ठले बताए । ‘पाइपलाइन लगभग सकिन लागेको छ । सिद्धबाबा सुरुङमार्ग बनेको ठाउँमा पाइपहरू फुटेको छ । त्यो उनीहरूले नै बनाउने सहमति भइसकेको छ,’ उनले भने ‘तीनवटा पुल (ट्रसब्रिज) बनेपछि पाइपलाइनको काम सकिन्छ । त्यसपछि हामीले पानी छोडिहाल्छौं । पाइपलाइनको काम १५–२० दिन भित्र ठेकदारले सुरु गर्छु भनेको छ ।’
पाइप लाइनसँगै केही ठाउँमा ओभरहेड ट्यांकी बनाउने प्रक्रिया अघि बढाइएको भन्दै उनले लगातार काम भए ६ महिनादेखि एक वर्षभित्र बुटवलमा झुम्साको खानेपानी आउने उल्लेख गरे । अहिले ओभरहेड ट्यांकीको ठेक्काका लागि प्राविधिक प्रस्ताव आगाडि बढेको उनले जानकारी दिए । जस अनुसार वडा नम्बर ३ मा एक हजार घनमिटरको ट्यांकी बन्नेछ । त्यस्तै, रामनगर सैनिक ब्याकेकमा पनि हजार घनमिटरकै अर्को ट्यांकी निर्माण हुनेछ ।
हिलपार्क क्षेत्रमा दुई हजार घनमिटरको ट्यांकी निर्माण हुनेछ । बुटवलबाट केही उचाइमा भएकाले हिलपार्कमा ओभरहेड ट्यांकी बनाउन नपर्ने उनले बताए । नुपर्दैन । ओभरहेड बनाउन नपर्दा खर्च कम हुने आयोजना प्रमुख श्रेष्ठले बताए । रुख कटानका लागि मन्त्रिपरिषद्को स्वीकृति लिनुपरेकाले ढिलो भइरहेको उनले जानकारी दिए । डीपीआरअनुसार झुम्सा खानेपानी ६ अर्ब लागतमा बन्न लागेको हो ।
‘६० करोड जति खर्च भइसकेको छ । धेरै ठाउँमा पुरानै पाइपलाइन भएकाले नयाँ पाइपलाइन राखिराख्न परेन,’ उनले भने, ‘भविष्यको सम्भावनालाई देखेर कुल नौवटा ट्यांकी बनाउने योजना हो । तत्काल सबैठाउँमा ट्यांकी निर्माण गर्न नपर्दा लागत कम हुन्छ । कुल एक करोड २० लाख जति खर्च लाग्ला ।’
डीपीआरमा बुटवलको सेमलार, मोतिपुर क्षेत्रमा पनि ट्यांकी निर्माण गर्ने योजना छ । तर त्यहाँ उपभोक्त समिति मार्फत नै भूमिगत खानेपानी आयोजना सञ्चालित छ । भविष्यमा भूमिगत पानीको विकल्पमा ती ठाउँमा झुम्साको पानी वितरण हुन सक्ने श्रेष्ठको भनाइ छ ।
झुम्सा खानेपानी आयोजना सम्पन्न भएपछि बुटवलमा दैनिक ३ करोड २० लाख लिटर पानी वितरण गर्ने लक्ष्य राखिएको खबर कारोबार दैनिकले छापेको छ । पाइपलाइन विस्तार सम्पन्न भए लगत्तै तत्काल डेढ करोड जति मात्र पानी छोडिनेछ । एकरदुई वर्ष पाइपको टेस्टिङ पिरियड हुने र त्यसपछि मात्र पूर्ण क्षमतामा पानी वितरण गर्ने आयोजनाले जनाएको छ ।


226 पटक हेरिएको 

