विद्यालयमा पानी आउन बन्द भएपछि सुख्खा समयमा खानेपानीको हाहाकार

  वास खबर समाचारदाता  165 पटक हेरिएको
🔗
24
Shares

धनगढी : वासुदेव राना धनगढीको एक सरकारी विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । बिहान साढे ६ बजेदेखि सुरु भएको विद्यालय ठ्याक्कै घाम चर्केको बेला साढे १२ बजे छुट्छ । त्यसबेला वासुदेवलाई घर फर्कन हम्मे नै पर्छ ।

“विद्यालयमा पनि गर्मीले कोठाभित्र कठिन हुन्छ । पढाइमा ध्यानै जान्न,” विद्यालयबाट घर फर्कने बेला रुखको छहारीमुनि सुस्ताइरहेको अवस्थामा भेटिएका उहाँले भन्नुभयो, “घर पुग्दासम्म पसिनाले पूरै भिजिन्छ ।” वासुदेव जस्तै कैलालीमा हजारौँ विद्यार्थी चर्को घामसँग जुझ्दै घर फर्कने गरेका छन् ।

उनीहरू कोही छाता ओढेर त कोही झोला, किताब टाउकोमा राखेर घर फर्किरहेका देखिन्छन् । केही दिनयताको प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ । गर्मीले विद्यार्थीको पठनपाठनमा मात्रै नभई मानिसका दैनिक कामकाजसमेत प्रभावित भइरहेका छन् ।

चर्को गर्मीका बेला काम गर्न गाह्रो हुने गरेको राजमिस्त्री प्रदीप चौधरीले बताउनुभयो । उहाँले घाममा काम गर्दा बान्ता हुने, रिँगटा लाग्ने, कमजोर महसुस हुने जस्ता समस्या हुने गरेको उल्लेख गर्नुभयो । “घाममा काम गर्दा झन्डै बिरामी परिन्छ,” उहाँले भन्नुभयो, “राम्ररी कामै गर्न सकिन्न ।”

चर्को गर्मीसँगै तराईवासीले पानीको समस्या पनि भोगिरहेका छन् । सुक्खा लागेसँगै भूमिगत जलस्रोत सुक्न थालेको छ । बोरिङ, चापाकल र धारा सुकेर खानेपानीकै समस्या भइरहेको स्थानीयवासी बताउँछन् । जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीमा यस वर्षकै सबैभन्दा उच्च तापक्रम मापन भएको छ ।

अपराह्न ५ बजेसम्म ४१.४ डिग्री सेल्सियस तापक्रम मापन भएको सो कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले जानकारी दिनुभयो । “यो किसिमको गर्मीबाट हामी अत्यन्तै सचेत हुनु पर्छ,” उहाँले भन्नुभयो, “अझै गर्मी बढ्दै जाने देखिन्छ ।”

साहका अनुसार केही दिनयता कैलालीसहित तराईमा तातो लहर (हिट वेभ) चलिरहेको छ । तातो लहरका कारण भारतमा कैयौँले ज्यानसमेत गुमाइसकेकाले सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढ्न थालेको छ ।

हरेक सिजनमा सिजन अनुसारका बिरामी बढ्ने गरेको जनाउँदै सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले गर्मीमा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीको विशेष ख्याल गर्न आवश्यक रहेको बताउनुभयो । “गर्मीमा यी वर्गका व्यक्तिको शरीरले तापक्रमको सन्तुलन मिलाउन नसक्ने भएकाले बढी असर हुन्छ,” उहाँले भन्नुभयो, “गर्मीले श्वासप्रश्वास सम्बन्धी रोग र दीर्घरोग बढाउँछ ।”

अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्ने, तालिम गर्ने व्यक्तिलाई ‘हिट स्ट्रोक’ हुने सम्भावना बढी रहेका कारण अत्यधिक तापक्रममा काम गर्दा विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । ‘हिट स्ट्रोक’ भएमा शरीरको विभिन्न अङ्गले काम गर्न छाड्ने गरेकाले ज्यान जाने खतरा पनि रहने गरेको बताइएको छ ।

यसै गरी चर्को घामले रगतसम्बन्धी समस्या भएका सिकलसेलका बिरामीलाई अत्यधिक असर गर्ने गरेको जनाइएको खबर गोरखापत्र दैनिकले प्रकाशन गरेको छ। गर्मीबाट जोगिन लामो समयसम्म घाममा काम नगर्ने/नबस्ने, खानपानमा ध्यान दिनुपर्ने ठिक मात्रामा पानी वा झोलिलो पदार्थ (चिनीजन्य पेय पदार्थबाहेक) खानुपर्ने डा. कमरको सुझाव छ । उहाँले सामान्य मानिसले दैनिक दुईदेखि तीन लिटर र मुटु, मिर्गाैलाका बिरामीले चिकित्सकको सल्लाह अनुसार ठिक मात्रामा पानी पिउनुपर्ने औँल्याउनुभयो ।

यसै गरी गर्मी सिजनसँगै सर्पको बिगबिगी बढेको र विषालु सर्पले टोकेका बिरामी धेरै आउन थालेकाले सर्पको टोकाइबाट जोगिने उपाय अपनाउन पनि डा. कमरको आग्रह छ । “सर्पले टोकेको थाहा भएमा तुरुन्तै एन्टी स्नेक भेनम पाइने अस्पतालमा उपचारका लागि ल्याउनु पर्छ,” उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार