
नवलपरासी : सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयको टोलीले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सुरक्षा अवस्थाको स्थलगत अवलोकन गरेको छ।
शिक्षालयमा सञ्चालन भइरहेको सि.सं. ३३ महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा तालिमअन्तर्गत तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरूले संस्थाको सुरक्षा अवस्था, सम्भावित जोखिम, चुनौती तथा संस्थागत गतिविधिबारे अध्ययन गरेका हुन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक केदारनाथ सापकोटाका अनुसार महत्त्वपूर्ण प्रतिष्ठानमा हुन सक्ने सुरक्षा जोखिम तथा चुनौतीहरूको पहिचान गरी तिनको न्यूनीकरणका उपायबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अवलोकन कार्यक्रम सञ्चालन गरिएको हो। तालिममा सहभागी करिब ६० जना सशस्त्र प्रहरी कर्मचारीले स्थलगत अध्ययनसँगै सम्भावित जोखिम व्यवस्थापनका विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ।
अवलोकनका क्रममा संस्थाका अध्यक्ष दिपक लम्सालले संस्थाको परिचय प्रस्तुत गर्दै विपद् व्यवस्थापन, खानेपानी सञ्चालन तथा वितरण प्रणालीमा आउन सक्ने प्राकृतिक तथा मानव सिर्जित जोखिम र तिनको न्यूनीकरणका उपायबारे जानकारी गराउनु भयो ।

उहाँले खानेपानी सेवा जस्तो संवेदनशील क्षेत्रमा जोखिम व्यवस्थापन चुनौतीपूर्ण रहेकाले सरोकारवाला सबै पक्षको समन्वय र सक्रियता आवश्यक रहेको बताउनु भयो ।
संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना टोली संयोजक कमल थापाले प्राकृतिक विपद्भन्दा मानव सिर्जित जोखिम रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भयो । संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारीले खानेपानी क्षेत्रको सुरक्षा र विपद् व्यवस्थापनका लागि सम्बन्धित निकायहरूको समयमै सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले विपद् न्यूनीकरण तथा समाधानका क्षेत्रमा सुरक्षा निकायको चासो र सहभागिता सकारात्मक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले संस्थागत सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।


325 पटक हेरिएको 

