
उदयपुर : उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा खानेपानीको आपूर्ति बन्द भएको छ । कटारी खानेपानी आयोजनाको मोटर बिग्रिएपछि विगत एक सातादेखि बजारमा खानेपानीको चरम अभाव भएको हो ।
खानेपानीको हाहाकार भए पनि तत्काल अर्काे विकल्प नभएपछि आमउपभोक्ताले रित्तो गाग्रीसहित खानेपानीको व्यवस्था मिलाउन नगरप्रमुखसँग माग गर्दै दबाब दिन थालेपछि स्थानीयलाई कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले दमकलबाट पानी वितरण गर्ने व्यवस्था मिलाउनुभएको छ ।
“आइतबार १० स्थानमा दमकलबाट पानी वितरण गरिएको र प्रतिएक घरपरिवारले ३० लिटरसम्म प्राप्त गर्ने गरेको स्थानीयले बताएका छन् । बजारका होटेल व्यवसायीले भने अपुग पानी आफैँ व्यवस्था गर्ने गरेको होटेल सञ्चालकको भनाइ छ । नगरपालिकाले दमकलबाट चोक चोकमा पानी बाँडेपछि उपभोक्ता बाल्टिन, गाग्री लिएर पानी भर्न दमकल भएको ठाउँमा पुग्ने गरेका छन् । नगरप्रमुख श्रेष्ठले तत्कालका लागि दमकलबाट भए पनि आमउपभोक्तालाई पानी वितरण गरिएको र मोटर मर्मत तथा नयाँ मोटर जडानको प्रव्रिmया अन्तिम चरणमा पुगेकाले अबको केही दिन पछि मात्रै खानेपानी आयोजनाको पानी नियमित हुने बताउनुभयो ।
पर्सिसम्म पानी सञ्चालन हुन नसके नगरपालिकाको स्रोत प्रयोग गरेर पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेर अहिले दमकलबाट पानी वितरणको अस्थायी व्यवस्था गरिएको हो नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “तर पानी आपूर्तिको वैकल्पिक योजनासमेत ल्याउन पर्ने महसुस भएको छ ।”
खानेपानी अभावका कारण कटारी नगरपालिका–३, ४ र ५ का अधिकांश बासिन्दा प्रभावित भएका छन् । कटारी–४, डाँडाटोलका बासिन्दा आइतबार रित्तो गाग्री बोकेर पानी माग्दै नगरप्रमुख श्रेष्ठको घर पुगेका थिए । बजार क्षेत्रका घरपरिवारसँगै होटेल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा समेत पानीको अभावले समस्या सिर्जना गरेको स्थानीय युवा अस्मित पौडेलले बताउनुभयो ।
धाराको पानी बन्द भएपछि कतिपयले खोलाबाट अटोरिक्सामार्फत पानी ल्याएर दैनिक काम चलाउन थालेका छन् । बजार क्षेत्रमा पानीको माग बढ्दै जाँदा निजी रूपमा पानी व्यवस्थापन गर्न नसक्ने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । स्थानीय प्रभुनारायण साहका अनुसार डाँडाटोल क्षेत्रमा न इनारको सुविधा छ, न त अन्य वैकल्पिक स्रोत नै उपलब्ध छ ।
पानी नभएर शौच गर्न, लुगा धुन, नुहाउन सबै समस्या भएको छ भन्दै अर्का उपभोक्ता केदार रानामगरले भन्नुभयो, “अहिले त भात खाने थाल धुनसमेत पानी छैन । त्यसैले बाध्य भएर रित्तो गाग्री बोकेर मेयरको घरसम्म पुग्नु प¥यो ।”
कटारी बजारमा पानी आपूर्ति गर्ने नयाँ खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार आयोजनाको मुख्य मोटरमा प्राविधिक समस्या देखिएपछि पानी वितरण प्रभावित भएको हो । नयाँ मोटर जडानको प्रव्रिmया जारी रहेको र छिट्टै समस्या समाधान हुने उहाँको भनाइ छ


158 पटक हेरिएको 

