
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ सञ्चालनमा आएपछि सल्लेका ३१ घर परिवार लाभान्वित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना सञ्चालनमा आएको हो।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत ५३ लाख रुपैयाँ रहेको जनाइएको छ । जसमध्ये गोर्खा वेलफेयर ट्रष्टले ४६ लाख रुपैयाँ तथा स्थानीय उपभोक्ताले सात लाख बराबरको श्रमदान तथा नगद सहभागिता रहेको वडाध्यक्ष काशीराज राईले जानकारी दिनुभयो।
स्थानीय ठूलो पँधेरो मुहानबाट लिफ्टिङ गरिएको पानी वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका ३१ घर स्थानीय मगर परिवारले अब आफ्नै घर आँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन् ।
लिफ्टिङ प्रविधिको खानेपानी योजना निर्माण सुरु गरेको ७२ दिन भित्र सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले जानकारी दिनुभयो।
खानेपानी आयोजना अन्तर्गत २६ घरमा निजी र दुईवटा सार्वजनिक धाराहरू जडान गरिएका छन् । लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीले बताएका छन् ।


275 पटक हेरिएको 

