
रेसुङ्गा: गत वैशाख १२ गते चट्याङले विद्युत् ट्रान्समिटरमा क्षति पुर्याएपछि इस्मा गाउँपालिकाका तीन वडामा खानेपानीको हाहाकार भयो ।
ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मरमा पटक पटक चट्याङले क्षति पु¥याउँदै आएको छ । जेठ ११ गतेको हावाहुरीसहितको चट्याङबाट ट्रान्समिटरमा पुनः क्षति पुगेको छ । ट्रान्समिटरले काम नगर्दा आठ दिनदेखि गाउँमा खानेपानीको सङ्कट परिरहेको छ । उक्त योजनाको खानेपानी इस्मा गाउँपालिका–१, ३ र ४ का २७२ घरधुरीले उपभोग गर्दै आएका छन् ।
पटक पटक ट्रान्समिटरमा क्षति पुग्ने र खर्चिलो हुने भएकाले लिफ्ट खानेपानी ठुलो समस्या बन्दै आएको छ । इस्मा गाउँपालिका–३, दर्लामचौरका डिपी अर्यालले लामो समयदेखि आफूहरूले खानेपानीको सास्ती खेपिरहेकाले सरकारले बेलैमा ध्यान दिन आग्रह गर्नुभयो ।
यो योजना सञ्चालनभन्दा पहिले कुवा र पँधेरोको पानी बोकेर धेरै पुस्ताको जीवन बितेको थियो । २०७१ सालमा डिपिआर निर्माण गरेर खानेपानी योजना अगाडि बढेपछि यो योजना आर्थिक वर्ष २०७७/७८ मा चार करोड ८२ लाख ४८ हजार रुपियाँको लागतमा निर्माण गरिएको थियो ।
लिफ्ट प्रविधिले तत्कालका लागि खानेपानी सङ्कटलाई टारे पनि दीर्घकालीन रूपमा यो चुनौती रहेको छ । खानेपानी कार्यालय र विद्युत् प्राधिकरणको सहयोगमा नयाँ ट्रान्सफर्मरको जोहो गरेर वैशाखको क्षति मर्मत गरेको बताउँदै इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुँवरले भन्नुभयो, “हालैको क्षतिपछि आफूहरूसँग अन्य उपाय छैन ।”
योजनाको मुहानमा सडक पुग्दैन । ट्रान्सफर्मर र पम्प बिग्रेपछि ठुलो सङ्ख्यामा स्थानीय उपभोक्ताले बोकेर मर्मतका लागि पठाउने गरेका छन् । लिफ्ट योजना सञ्चालन गर्न समितिसँग छुट्टै आर्थिक स्रोत छैन । वडाध्यक्ष कुँवरले पालिकाले वडाका योजना कटाएर ट्रान्समिटर खरिद गर्न भनेकाले छलफल भइरहेको बताउनुभयो ।
उपभोक्ताले मासिक सात युनिटको २५० र त्योभन्दामाथि प्रतियुनिट ४० रुपियाँ बुझाउनु पर्छ । समितिको मासिक ३० हजार विद्युत् र कर्मचारी व्यवस्थापनमा गरेर ५०÷६० हजार रुपियाँ खर्च हुन्छ । ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाका अध्यक्ष लोकबहादुर महतले पटक पटक ट्रान्सफर्मर र पम्प बिग्रने भएकाले समितिको पहुँचबाहिर लिफ्ट खानेपानी सञ्चालन हुँदै गएको बताउनुभयो ।
गुल्मीमा २०७१ सालतिर लिफ्ट प्रविधि भित्रिएको हो । जिल्लामा करिब डेढ सय लिफ्ट खानेपानी योजना सञ्चालनमा रहेका छन् ।
त्यसमध्ये १०÷१५ वटा योजनाका समिति सबल नभएको खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीका सबइन्जिनियर गौरव भण्डारीले बताउनुभयो ।


172 पटक हेरिएको 

