भेरी नगरपालिकामा दुई दिने पालिका स्तरीय जल सम्मेलन सुरु

  वास खबर समाचारदाता  248 पटक हेरिएको
🔗
31
Shares

जाजरकोट : भेरी नगरपालिकामा खानेपानी तथा सरसफाइ योजनाको दिगोपना र प्रभावकारी व्यवस्थापनका विषयमा केन्द्रित दुई दिने पालिका स्तरीय जल सम्मेलन सुरु भएको छ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) को आयोजनामा तथा आयोजना सहयोग इकाइ कार्यालय, सुर्खेतको सहजीकरणमा विश्व वातावरण दिवस २०२६ को अवसर पारेर सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा नगरपालिकाभित्रका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधि, पालिका स्तरीय वास समन्वय समिति (WASHCC) का पदाधिकारी, मर्मत सम्भार कार्यकर्ता तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

कार्यक्रममा वास सल्लाहकार राजु चौधरीले सम्मेलनको उद्देश्यबारे जानकारी दिँदै खानेपानी तथा सरसफाइ योजनाको दीर्घकालीन सञ्चालन, मर्मत सम्भार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। उहाँले योजनाको अवस्था विश्लेषण, अनुभव आदान–प्रदान तथा सिकाइ साझेदारी सम्मेलनका प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमिल्सेनाले खानेपानी योजनाको दिगोपनामा उपभोक्ता समितिको सक्रियता, उत्तरदायित्व र व्यवस्थापकीय क्षमताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले योजना निर्माणसँगै यसको नियमित सञ्चालन तथा मर्मत सम्भारमा समुदायको स्वामित्व सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो।

उपप्रमुख सीता जैशीले दूषित पानीका कारण ठूलो संख्यामा रोगहरू फैलिने भएकाले सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराउनु उपभोक्ता समितिको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले खानेपानी स्रोतको संरक्षण, गुणस्तर परीक्षण तथा सरसफाइका गतिविधिमा विशेष ध्यान दिन समितिहरूलाई आग्रह गर्नुभयो।

सम्मेलनमा खानेपानी योजनाको दिगोपना, संस्थागत तथा वित्तीय व्यवस्थापन, मर्मत सम्भार प्रणाली, सुशासन तथा सिकाइ आदान–प्रदानका विषयमा छलफल भइरहेको छ। कार्यक्रमको सहजीकरण सुस्वा आयोजना सहयोग इकाइ कार्यालयका सुशासन विज्ञ निराजन श्रेष्ठ, पूर्वाधार इञ्जिनीयर प्रकाश गैर तथा भेरी नगरपालिकाको वास इकाइका कर्मचारीहरूले गरिरहेका छन्।

सम्मेलनबाट खानेपानी तथा सरसफाइ योजनाहरूको प्रभावकारी व्यवस्थापन, नियमित मर्मत सम्भार तथा दीर्घकालीन दिगोपना सुनिश्चित गर्न आवश्यक रणनीति र कार्ययोजना तय हुने अपेक्षा गरिएको वास संयोजक कृष्णबहादुर विकले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार