खानेपानीको मर्मत सम्भार कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम

  वास खबर सम्बाददाता  400 पटक हेरिएको
🔗
129
Shares

रुकुम :  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खानेपानी तथा सरसफाइ योजनाहरूको दिगोपना, प्रभावकारी सञ्चालन तथा नियमित मर्मत सम्भार सुनिश्चित गर्ने उद्देश्यले “मर्मत सम्भार कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।

हेल्भेटास नेपाल र रुकुमेली समाज विकास केन्द्र (RSDC) को साझेदारीमा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम अन्तर्गत  सञ्चालित अभिमुखीकरण कार्यक्रममा खानेपानी तथा सरसफाइ योजनाहरूको दीर्घकालीन सञ्चालन, सम्भावित प्राविधिक समस्याको समयमै समाधान, स्थानीय स्तरमा मर्मत सम्भार संयन्त्रको सुदृढीकरण तथा योजनाप्रतिको स्थानीय स्वामित्व अभिवृद्धिमा विशेष जोड दिएको थियो।

 

अभिमुखीकरण कार्यक्रममा खानेपानी तथा सरसफाइ योजनाहरूको प्रभावकारी व्यवस्थापन, नियमित मर्मत सम्भार, सम्भावित जोखिम न्यूनीकरण, स्थानीय स्रोत तथा जनशक्तिको परिचालन, र दिगो सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक कार्ययोजना निर्माण सम्बन्धी विषयमा छलफल तथा सहजीकरण गरिएको थियो।

सहभागीहरूले योजनाहरूको दीर्घकालीन दिगोपनाका लागि स्थानीय तह, उपभोक्ता समिति तथा सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन रुकुमेली समाज विकास केन्द्र (RSDC) का कार्यकारी निर्देशक नरेन्द्र ओलीले गर्नुभएको थियो भने मर्मत सम्भार कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सहजीकरण क्षमता बिकास संयोजक जगदिश खड्काले गर्नु भयको थियो!

कार्यक्रमले खानेपानी तथा सरसफाइ सेवाको गुणस्तरीय र दिगो व्यवस्थापनमा स्थानीय तह तथा समुदायको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि के.सी. को अध्यक्षतामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर उपप्रमुख धनकुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर राजेश गौतम, कार्यक्रम कार्यान्वयन भइरहेका वडाका वडा अध्यक्षहरू, आठबिसकोट नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरू, कार्यक्रम अन्तर्गत सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष, सचिव, ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरू तथा रुकुमेली समाज विकास केन्द्र (RSDC) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार