पबन नगर खानेपानी उपभोक्ता संस्थाले गर्‍यो मुहान अवलोकन तथा छलफल

  वास खबर सम्बाददाता  237 पटक हेरिएको
🔗
30
Shares

पबन नगर खानेपानी उपभोक्ता संस्थाले खानेपानीको स्रोत (मुहान) को अवस्था, पानीको गुणस्तर तथा वर्षायाममा उपभोक्ताले भोग्दै आएको समस्या सम्बन्धमा मुहान अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।

अवलोकनका क्रममा मुहान क्षेत्रको वर्तमान अवस्था, पानीको स्रोत संरक्षण, वितरण प्रणाली तथा वर्षायाममा देखिने समस्याबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विशेष गरी वर्षाको समयमा मुहानमा माटो, लेदो तथा अन्य फोहोर मिसिने कारण उपभोक्ताले धमिलो पानी पिउन बाध्य हुनुपरेको विषय उठाएका थिए।

छलफलमा राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले मुहान संरक्षण, पानी प्रशोधन प्रणालीको सुधार तथा दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तह, उपभोक्ता संस्था र सरोकारवालाबीच समन्वय गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी निर्मल आचार्यले खानेपानीको गुणस्तर सुधारका लागि सामुदायिक सहभागिता, वातावरण संरक्षण तथा मुहान क्षेत्रको नियमित निगरानी आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा पबन नगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले वर्षायाममा पानी धमिलो हुने समस्या समाधानका लागि मुहान संरक्षण, सेडिमेन्टेसन ट्यांकी निर्माण, फिल्टर प्रणालीको स्तरोन्नति तथा वितरण सञ्जालको मर्मत–सम्भारलाई प्राथमिकता दिइने जानकारी दिएका थिए।

अन्त्यमा सहभागीहरूले उपभोक्तालाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ सम्बन्धित निकायहरूबीच सहकार्य बढाउने, आवश्यक स्रोत व्यवस्थापन गर्ने तथा दीर्घकालीन सुधार योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। वर्षायाममा धमिलो पानी पिउनुपर्ने बाध्यताको अन्त्य गर्दै गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। अवलोकन कार्यक्रममा अध्यक्ष वली, निर्मल आचार्य, पबन नगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष, पदाधिकारी, सदस्य, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार