गण्डकी प्रदेशको बजेट :एक घर एक धारालाई १ अर्ब ७ करोड, विद्युत महशुल अनुदानको लागि ४ करोड ४५ लाख

  वास खबर समाचारदाता  156 पटक हेरिएको
🔗
59
Shares

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खानेपानी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्दै स्वच्छ खानेपानी पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ।

सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले “स्वच्छ पानीः स्वस्थ जीवन” भन्ने मूल नारालाई आत्मसात् गर्दै ठूला तथा बृहत् खानेपानी आयोजनामार्फत स्वच्छ खानेपानी आपूर्ति गरी जनस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले खानेपानी गुणस्तर कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गरिने बताएका छन्।

बजेट वक्तव्य अनुसार स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिक तथा पर्यटकीय स्थलहरूमा सुरक्षित खानेपानी सेवा विस्तार गर्न प्राथमिकताका साथ बजेट व्यवस्था गरिएको छ।

प्रदेश सरकारले विगतदेखि सञ्चालन गर्दै आएका खानेपानी आयोजनाहरूलाई क्रमिक रूपमा सम्पन्न गर्दै “एक घर एक धारा” कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यसका लागि खानेपानी क्षेत्रमा बहुवर्षीय स्रोत सुनिश्चित भएका आयोजनाहरू सञ्चालन गर्न १ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, लिफ्टिङ्ग खानेपानी तथा सिँचाइ आयोजनाहरूको सञ्चालनमा सहयोग पुर्‍याउन विद्युत् महसुल अनुदानका लागि ४ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ।

सिँचाइ तथा खानेपानी क्षेत्रको प्रणाली सुधार, विस्तार तथा मर्मतसम्भारका लागि थप १ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ।

प्रदेश सरकारले ऊर्जा, जलस्रोत तथा खानेपानी क्षेत्रलाई समग्र रूपमा प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उक्त बजेट मध्ये खानेपानी तथा जलस्रोत क्षेत्रलाई प्रदेशको पूर्वाधार विकास र जनस्वास्थ्य सुधारको महत्वपूर्ण आधारका रूपमा प्राथमिकता दिइएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार