
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका तथा ठूलीभेरी नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दिगोपना, सुशासन र सामुदायिक स्वामित्व अभिवृद्धि गर्ने उद्देश्य सहित दुई दिवसीय जल सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले गैह्रसरकारी संस्थाहरूले उपाय र सीप सिकाउने भए पनि त्यसको दीर्घकालीन प्रयोग र व्यवस्थापनका लागि स्थानीय समुदायको अपनत्व र लगाव अपरिहार्य हुने बताउनुभयो। उहाँले फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित सुस्वा परियोजनाले दिगो खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा समावेशी र समानतामूलक योगदान पुर्याएको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरले दुर्गम हिमाली भूगोलका कारण आधारभूत सेवाको पहुँच विस्तार चुनौतीपूर्ण भए पनि “कोही पनि सेवाबाट पछि नपरोस्” भन्ने मूल मान्यताका साथ नगरपालिका अघि बढिरहेको बताउनुभयो।
उहाँका अनुसार नगरभित्र रहेका ४२ वटा खानेपानी योजनामध्ये २१ वटा संरचना निर्माण सम्पन्न भइसकेका छन्। उनले स्थानीय सरकार केवल सेवा प्रदायक निकाय नभई स्थानीय शासनलाई प्रभावकारी बनाउने अभियानमा सक्रिय रहेको उल्लेख गर्दै सह–शासन, सह–निर्माण र सह–उत्पादनको अवधारणामा आधारित विकास अभ्यासलाई प्राथमिकता दिइएको बताउनुभयो।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा प्रमाणमा आधारित योजना छनोट, लक्षित समुदायको अर्थपूर्ण सहभागिता, संस्थागत क्षमता विकास तथा पारदर्शी र उत्तरदायी सेवा प्रवाहलाई केन्द्रमा राखिने उहाँले बताउनुभयो।
सुस्वा परियोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठले परियोजना आगामी आर्थिक वर्ष २०८३/०८४ मा बहिर्गमनको चरणमा पुग्ने जानकारी दिँदै हाल कर्णाली प्रदेशका १० जिल्लाका २८ स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।

उहाँका अनुसार परियोजनाले तीन प्रमुख क्षेत्रमा काम गरिरहेको छ
- स्थानीय तह तथा उपभोक्ता संस्थाको संस्थागत सुदृढीकरण र क्षमता विकास
- जलवायु उत्थानशील खानेपानी तथा सरसफाइ योजनाको मर्मत, पुनःस्थापना तथा पुनर्निर्माण
- सरसफाइ तथा सामाजिक रूपान्तरण
विशेष गरी छाउपडी उन्मूलन, मर्यादित महिनावारी व्यवस्थापन तथा समावेशी नीति निर्माणमा परियोजनाले विगत चार वर्षदेखि स्थानीय तहसँग सहकार्य गरिरहेको उहाँले बताउनुभयो। त्यसैगरी परियोजनाका अर्का विज्ञ राजु तिर्वाले संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकारहरूले लैङ्गिक समानता, सामाजिक समावेशिता तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई योजनादेखि कार्यान्वयनसम्म समेट्नुपर्ने बताउनुभयो।
दिगोपना, सुशासन र वित्तीय व्यवस्थापनमा केन्द्रित छलफल
दुई दिनसम्म चलेको सम्मेलनमा खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, प्रभावकारी सञ्चालन तथा व्यवस्थापन, मर्मत सम्भार प्रणाली, वित्तीय व्यवस्थापन, सुशासन, पारदर्शिता, सेवा शुल्क संकलन, संस्थागत विकास तथा उपभोक्ता समितिको क्षमता अभिवृद्धि सम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

सहभागीहरूले आफ्ना योजनाहरू कार्यान्वयनका क्रममा भोगिरहेका चुनौती, अवसर तथा असल अभ्यासहरू प्रस्तुत गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायबारे अनुभव आदानप्रदान गरेका थिए।
सम्मेलनले नियमित मर्मत सम्भार, प्रभावकारी महसुल संकलन, वित्तीय अनुशासन तथा समुदायको स्वामित्व अभिवृद्धिलाई योजनाको दीर्घकालीन सफलताको आधारका रूपमा निष्कर्ष निकालेको थियो।
उत्कृष्ट उपभोक्ता समितिलाई सम्मान
कार्यक्रम अन्तर्गत उपभोक्ता समितिहरूको स्व–मूल्याङ्कन समेत गरिएको थियो। मूल्याङ्कनका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने समितिहरूलाई प्रशंसापत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो।

त्रिपुरासुन्दरी नगरपालिकातर्फ त्रिपुरासुन्दरी–१ को तीर्थखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, त्रिपुरासुन्दरी–८ दागिनाको चौरीखोला–रातिजुर खानेपानी तथा सरसफाइ समिति तथा त्रिपुरासुन्दरी–९ को चु खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पुरस्कृत भएका छन्।
त्यसैगरी ठूलीभेरी नगरपालिकामा रह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति प्रथम, जुफाल एयरपोर्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति द्वितीय तथा डाँगीवाडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तृतीय भएका छन्।
सामूहिक प्रतिबद्धता सहित सम्मेलन सम्पन्न
सम्मेलनको समापनमा उपभोक्ता समिति पदाधिकारी, मर्मत सम्भार कार्यकर्ता, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले खानेपानी तथा सरसफाइ योजनाको दिगोपना सुनिश्चित गर्ने, नियमित मर्मत सम्भारलाई प्राथमिकता दिने, पारदर्शी वित्तीय व्यवस्थापन कायम गर्ने, प्रभावकारी महसुल संकलन गर्ने तथा नगरपालिका र उपभोक्ता समितिबीचको समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।

आयोजकका अनुसार सम्मेलनबाट प्राप्त सुझाव, सिकाइ तथा प्रतिबद्धताहरूलाई आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गरी कार्यान्वयन गरिनेछ। सम्मेलनले खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार, संस्थागत सुशासन प्रवर्द्धन तथा योजनाहरूको दिगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना तथा सुस्वा आयोजना सहयोग इकाइ (PSU) सुर्खेतको सहजीकरणमा आयोजित सम्मेलनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरू, जनप्रतिनिधि, नगरभित्रका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, मर्मत सम्भार कार्यकर्ता (VMW) तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।


272 पटक हेरिएको 

