
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर (१.८मिटर) व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।
आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो ब्यास भएको पाइप हो।
भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमी, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका आयोजना निर्देशक ई. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो।
“पाँच क्षेत्रहरूमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ । अब चाडै अन्य प्रक्रिया सुरु हुन्छ,” आयोजना निर्देशक ई.श्रेष्ठले भन्नुभयो।
उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा निर्माण कार्य सञ्चालन गरिरहेको छ।
हाल विभिन्न स्थानमा रिजर्भयर ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका छन्। बिछ्याइएका पाइपहरूको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई हस्तान्तरण गरिनेछ।
सिस्टम हस्तान्तरणपछि काठमाडौंवासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताउनुभयो ।


181 पटक हेरिएको 

