अवकाश प्राप्त भारतीय सेनाको पहलमा तीन गाउँमा एक घर एक धारा

🔗
5
Shares

बागलुङ : बागलुङको दुर्गम तीन गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएका छन् ।

बागलुङको दुर्गम मानिएको ढोरपाटन नगरपालिका–४, खुङ्गा, सेराबाङ र किरी बस्तीमा कादुरीको सहयोगमा ३६१ घरमा ‘एक घर एक धारा’ निर्माण गरिएका छन् । ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको योजनाबाट ३६१ घरमा खानेपानी पुर्‍याइएको छ ।

बसौंंदेखिको खानेपानीको समस्या भोग्दै आएका यहाँका बासिन्दा घरमै खानेपानीको धारा आएपछि खुसी भएका छन् । ढोरपाटन नगरपालिका–४ का स्थानीय कमलाछवि विकले घरमै खानेपानीको धारा आउँदा आफ्ना खुसीका दिन फर्केको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले दिनमा दुई/तीन गाग्री पानीले गुजारा चलाउनुपर्थ्यो । सुक्खायाममा त दुई/तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने अवस्था थियो ।

ढोरपाटन नगरपालिका–४ का खुङ्गा, सोरबाङ र किरी बस्तीमा खानेपानी पुर्‍याइएको ढोरपाटन नगरपालिका–३, खुङ्गाका वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो ।

सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालयमा शौचालय तथा विद्यालयका लागि बालमैत्री धाराको समेत निर्माण गरिएको छ । उहाँका अनुसार अवकाशप्राप्त भारतीय सेना उजिरबहादुर पुन मार्फत पोखरास्थित वेलफेयर कार्यालयमा निवेदन दिएपछि योजना स्वीकृत भई कार्यान्वयन भएको हो ।

बस्तीबाट करिब नौ किलोमिटर टाढाको मुहानबाट पानी ल्याइएको छ । योजना सञ्चालनमा आएपछि बर्सौंदेखिको पानी अभाव अन्त्य भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालनका लागि प्रत्येक धारामा मिटर जडान गरेर प्रतिधारा मासिक ७० रुपियाँ शुल्क उठाउने व्यवस्था गरिएको छ ।

मर्मतसम्भार कोष र कर्मचारी व्यवस्थापनका लागि सोही रकम उपयोग गरिने समितिले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार