
रेसुङ्गा : गत जेठ ११ गतेको हावाहुरी सहितका चट्याङ्गले खानेपानीको विद्युत ट्रान्समिटरमा क्षति पुर्यएपछि अबरुद्ध ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजना तीन सातापछि सञ्चालनमा आएको छ ।
गत वैशाख १२ र जेठ ११ गते दुई पटक चट्याङ्गले विद्युत ट्रान्समिटरमा क्षति पुर्याएपछि इस्मा गाउँपालिकाका तीन वडामा नागरिक खानेपानीको सङ्कटमा परेका थिए ।
ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मरमा पटकपटक चट्याङ्गले क्षति गर्ने गरेको छ ।ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाको खानेपानी इस्मा गाउँपालिका–१, ३ र ४ का २७२ घरधुरीले उपभोग गर्दै आएका छन् ।
पटकपटक ट्रान्समिटर उड्ने र खर्चिलो हुने हुँदा लिफ्ट खानेपानी नागरिकको लागि ठूलो समस्या बन्दै आएको छ । इस्मा गाउँपालिका–३ दर्लामचौरका गोकर्ण नेपालीले प्रविधिको सुरक्षा र वायरिङ्गमा विचार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,“दिर्घकालिन सञ्चालनको विषयमा राज्यका निकाय गम्भिर बन्नुपर्छ, अहिले पनि झण्डै महिनादिन खानेपानी सङ्कट हुनु विडम्बना हो ।”
यो योजना सञ्चालनभन्दा पहिले कुवा र पँधेराको पानी बोकेर धेरै पुस्ताले जीवन कटाए । २०७१ सालमा डिपिआर निर्माण गरेर खानेपानी योजना अगाडि बढेको थियो ।
यो योजना आर्थिक बर्ष २०७७/०७८ मा चार करोड ८२ लाख ४८ हजार रुपियाँको लागतमा निर्माण गरिएको थियो ।
लिफ्ट प्रविधिले तत्कालको खानेपानी सङ्कट टरेपनि दीर्घकालीन सञ्चालनमा ठूलो चुनौती रहेको इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुँवरले बताउनुभयो ।
खानेपानी कार्यालय र विद्युत प्राधिकरणको सहजिकरणमा मर्मत र योजना सञ्चालन भइरहेको जानकारी दिनुभयो ।लिफ्ट योजना सञ्चालन गर्न समितिसँग छुट्टै आर्थिक स्रोत छैन ।
उपभोक्ताले मासिक सात युनिटको २५० र त्योभन्दा माथि प्रति युनिट ४० रुपियाँ बुझाउनुपर्छ ।समितिको मासिक ३० हजार विद्युत र कर्मचारी व्यवस्थापनमा गरेर ५०/६० हजार रुपियाँ खर्च आउँछ ।
पटकपटक ट्रान्सफर्मर र पम्पहरू बिग्रने भएकाले समितिको पहुँच बाहिर लिफ्ट खानेपानी सञ्चालन हुँदै गएको कुवँरले बताउनुभयो ।
गुल्मीमा २०७१ सालतिर गुल्मीमा लिफ्ट प्रविधि भित्रिएको हो ।जिल्लामा करिव डेढ सय लिफ्ट खानेपानी योजना सञ्चालनमा रहेका छन् । गोरखापत्रबाट साभार।


149 पटक हेरिएको 

