
काठमाडौं : आज सिथि नख: पर्व । नेवार समुदायले पानीको स्रोत सफा गर्दै सिथि नखः पर्व मनाउँदैछन्। काठमाडौ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन सिथी नखः पर्व मनाइँदै आएका छन्।

विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छिवीकालीन समयदेखि नै सुरु भएको विश्वास छ । नेवार समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत सिथी नखः पर्वलाई साझा संस्कृतिका रुपमा मनाउँदै आएका छन् ।
आजको दिनलाई भगवान महादेवको जेष्ठ पुत्र कार्तिकेय कुमारको जन्म भएको दिनको रुपमा पनि लिइन्छ । यस दिनलाई नेवार समुदायले दिगु पूजाको अन्तिम दिनको रुपमा पनि मनाउने गर्दछन् । यस दिनलाई चाडपर्वको अन्तिम दिनको स्वरुपमा आ–आफ्ना कूलदेवतालाइ पूजा गरेपछि मात्रै आफूले त्यस वर्षभित्र गरेको हरेक कामहरुले सिद्धि प्राप्त हुने र अन्य देवीदेवताको पूजाको फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ 
काठमाडौं उपत्यकामा पानी आपूर्तिका लागि परम्परागत रूपले नै पोखरी बनाउने चलन थियो। सहरको बाहिरी भागमा हुने रानीपोखरी जस्तोलाई ‘सिरान पोखरी’ भनिन्थ्यो। यस्ता पोखरीले जमिनमा पानी ‘रिचार्ज’ भई भित्री सहरका इनार र ढुंगेधारा रसाउँथे। यी पोखरीले बर्खा बेला पानीको भेल बस्तीभित्र छिर्न रोक्थ्यो। बर्खाको त्यही पानी जम्मा गरेर टोल–टोलमा बाँड्न ‘रिजर्भ्वायर’ को काम पनि गर्थ्यो।

हाँडीगाउँको गहनापोखरी, क्षेत्रपाटीको इखापुखु, कमलपोखरी, ललितपुरको लगनखेल र जावलाखेल पोखरी, भक्तपुरको सिद्धपोखरी यही खालका पोखरी हुन्। तर पछिल्ला समय सहर भित्रका इनार र ढुंगेधारा सुक्दै गएका छन् ।


2341 पटक हेरिएको 

