सरसफाइकर्मीको जीवन सुरक्षा र मर्यादा हामी सबैको कर्तव्य

  सुदीप घिमिरे  377 पटक हेरिएको
🔗
79
Shares

सुदीप घिमिरे

ललितपुर : स्वच्छता मानिसको जीवनका लागि अत्यावश्यक पक्ष मात्र होइन, दिगो विकासको प्रमुख आधार पनि हो। स्वस्थ जीवनशैली, सुरक्षित वातावरण र व्यवस्थित समाज निर्माण गर्न सरसफाइको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।

हाम्रो घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक स्थानहरू सफा राख्न निरन्तर खटिने व्यक्तिहरू सरसफाईकर्मी हुन्। उनीहरूको निरन्तर मेहनतका कारण नै हामी सफा र स्वस्थ वातावरणमा जीवनयापन गर्न पाएका छौँ। सरसफाई कर्मीहरूको योगदान दिगो विकास लक्ष्य ६, स्वच्छ पानी र सरसफाइ सँग प्रत्यक्ष रूपमा सम्बन्धित छ।

दिगो विकास लक्ष्य ६ को मुख्य उद्देश्य सबै मानिसहरूलाई सुरक्षित पानी र उचित सरसफाइ सुविधा उपलब्ध गराउनु हो। यस लक्ष्य प्राप्तिमा सरसफाई कर्मीहरूको भूमिका अपरिहार्य हुन्छ। उनीहरूले ढल व्यवस्थापन, फोहोर उठाउने काम, सेप्टिक ट्याङ्की सफा गर्ने, र सार्वजनिक स्थलहरूको सरसफाइ गर्ने जस्ता कार्यहरू नियमित रूपमा गर्दै आएका छन्।

यदि यस्ता सेवाहरू प्रभावकारी रूपमा सञ्चालन भएनन् भने विभिन्न प्रकारका रोगहरू फैलिन सक्छन् र जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। त्यसैले दिगो विकास लक्ष्य ६ को सफलतामा उनीहरूको योगदान महत्वपूर्ण छ। कल्पना गर्नुहोस् त् ! विश्वभर एक दिनका लागि सरसफाईकर्मीहरूले सरसफाई नगर्ने हो भने अवस्था कस्तो हुन्छ भनेर ?

यद्यपि, यति महत्वपूर्ण जिम्मेवारी वहन गर्ने यी सरसफाई कर्मीहरूको अवस्था भने सन्तोषजनक छैन। उनीहरूलाई प्रायः समाजले बेवास्ता गर्छ र उनीहरूको योगदानलाई पर्याप्त मूल्यांकन गरिँदैन। धेरै अवस्थामा उनीहरू असुरक्षित परिस्थितिमा काम गर्न बाध्य हुन्छन्।

फोहोर, ढल तथा हानिकारक पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा उनीहरू विभिन्न रोग र संक्रमणको जोखिममा पर्छन्। छाला सम्बन्धी समस्या, सास फेर्न गाह्रो हुने समस्या तथा अन्य स्वास्थ्य समस्या उनीहरूको लागि चुनौती बनेका छन्। आवश्यक सुरक्षात्मक सामग्रीको अभावले गर्दा दुर्घटना वा गम्भीर क्षति हुने सम्भावना पनि छ। ।

दिगो विकास लक्ष्य ८ ले सबै श्रमिकहरूलाई सुरक्षित, सम्मानजनक र उचित कामको वातावरण उपलब्ध गराउने लक्ष्य राख्छ। सरसफाइ कर्मचारीहरूको सन्दर्भमा यसको अर्थ उनीहरूको श्रम अधिकारको संरक्षण, सुरक्षित कार्यस्थल, उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्नु हो।

अहिले अधिकांश सरसफाईकर्मीहरू कम तलबमा काम गर्न बाध्य छन् र उनीहरूले बीमा, स्वास्थ्य सेवा तथा अन्य आधारभूत सुविधाहरू पाउनबाट वञ्चित छन्। यसले सरसफाईकर्मीहरू हरूको जीवनस्तर कमजोर बनाएको छ र भविष्यलाई अनिश्चित बनाएको छ।

नेपालमा सरसफाईकर्मीहरूको कुल संख्या बारे तथ्याङ्क सीमित छ। यद्यपि, सरसफाईक्षेत्रका विज्ञहरूले अनुमान गरेका छन् कि देशभर करिब १५,००० देखि २०,००० व्यक्ति सरसफाइ सेवामा संलग्न छन्।

फोहोर व्यवस्थापन प्रणालीमा मुख्य रूपमा दुई प्रकारका सरसफाईकर्मी छन्ः ठोस फोहोरसरसफाईकर्मी,  मलमूत्र व्यवस्थापन सरसफाईकर्मी । यीमध्ये मानव मल–मूत्र व्यवस्थापनमा कार्यरत सरसफाईकर्मी सबैभन्दा चुनौतीपूर्ण र असुरक्षित परिस्थितिमा काम गर्छन्, र धेरैजसो समय आफ्नो काम अत्यन्त जोखिमपूर्ण अवस्थामै गर्नु परेको हुन्छ।

फोहोर वर्गीकरणदेखि लिएर मानव मल–मूत्र व्यवस्थापनसम्मको सम्पूर्ण काम गर्दा, धेरै सफाईकर्मीहरूले सुरक्षात्मक उपकरण (PPE) बिना नै काम गर्नु परेको छ। साथै, समाजबाट रसफाईकर्मीहरूप्रति पर्याप्त सम्मान र उचित व्यवहार नहुँदा, उनीहरूको मानसिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव परेको छ। यसले गर्दा उनीहरूको सामाजिक र मनोवैज्ञानिक अवस्था प्रभावित भएको देखिन्छ।

साथै, अधिकांश सफाईकर्मीहरू आफ्नो पेशागत परिचय लुकाउन बाध्य भएका छन्, किनभने समाजमा यस पेशाप्रति हुने पूर्वाग्रह र भेदभावको अनुभव उनीहरूले गर्ने गरेका छन्।

सूर्य लिम्बूले वैदेशिक रोजगारीबाट फर्किएपछि करिब ३ वर्षदेखि ठोस फोहोर व्यवस्थापनको काम गर्दै आउनुभएको छ। उहाँले मासिक करिब ३०–३५ हजार रुपैयाँ आम्दानी गर्दै आफ्ना ४ जना सदस्यको परिवार चलाउनु भइरहेको छ।

साथै, सूर्य लिम्बूले अनुभव गर्नु भएको छ कि र सफाईकर्मीरूलाई समाजमा अझै पनि धेरै व्यक्तिहरूबाट अवहेलना र असम्मान गरिन्छ। उहाँको धारणा छ कि रसफाईकर्मीहरूले जोखिमपूर्ण काम गर्दा सरकारले उनीहरूलाई बीमा प्रणालीमा समावेश गर्नुपर्ने आवश्यक छ।

यद्यपि पहिलेको तुलनामा मानव –मलमूत्र व्यवस्थापन सम्बन्धी सरसफाईकर्मी प्रति गरिने व्यवहारमा सकारात्मक परिवर्तन आएको छ भन्ने कुरा मानव मल–मूत्र व्यवस्थापन सरसफाईकर्मी मान बहादुर पोडेले बताउनुभएको छ। साथै, उहाँले बताउनुभयो कि सरकारले औपचारिक र अनौपचारिक दुबै सरसफाई कर्मीलाई स्वास्थ्य सुरक्षा सम्बन्धी कानून बनाएर नियमित अनुगमन गर्न र सबै सरसफाइ कर्मचारीलाई बीमा व्यवस्थामा समावेश गर्नुपर्ने माग गर्नु भएको छ।

त्यस्तै, मानव मलमूत्र व्यवस्थापन सरसफाईकर्मी बुद्ध राम देउलाले बताए अनुसार, मानव मलमूत्र व्यवस्थापनको काम सकेपछि कहिलेकाहीँ कसै–कसैले पैसा दिन गाह्रो हुने अनुभव साट्नु भएको छ।

सेफ्टी ट्यांकी सफाइ व्यवस्थापनका सचिव प्रदीप ढुङ्गानाले करिब ३५ वर्षदेखि फोहोर व्यवस्थापनको काम गर्दै आउनुभएको छ। साथै, उहाँ वाटर ट्यांक क्लिनिङ्ग सर्विसका सञ्चालक पनि हुनुहुन्छ।

उहाँले बताउनुभयो कि आफ्ना कर्मचारीहरूको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हो र काम गर्दा एएभ् प्रयोग अनिवार्य गराउनु भएको छ। सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षा, स्वाभिमान र सम्मानका लागि सबै क्षेत्रका सरोकारवालाहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने र सरकारबाट औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत सबै सरसफाइ कर्मचारीलाई इन्स्योरेन्समा समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले सरसफाइ कामदारहरूको कार्य व्यवस्थापनका लागि स्थानीय तहसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भयो। उहाँले बीमा, सुरक्षा व्यवस्था, सेफ्टी ट्यांकी व्यवस्थापन तथा ढल सफाइ कार्यलाई व्यवस्थित बनाउन स्थानीय तहको भूमिकालाई स्पष्ट र जिम्मेवार बनाउनुपर्ने धारणा राख्नुभयो।

दिगो विकास लक्ष्य ८ अनुसार उनीहरूको कामलाई व्यवस्थित र औपचारिक बनाउनु आवश्यक छ, जसले उनीहरूको अधिकारको संरक्षण गर्न मद्दत पु¥याउँछ।
त्यसैगरी, सरसफाइ कर्मचारीहरूको सम्मान र गरिमा पनि अत्यन्त महत्वपूर्ण विषय हो। समाजमा अझै पनि यस पेशालाई सानो ठान्ने प्रवृत्ति देखिन्छ, जसले गर्दा उनीहरूले विभेद र अपमानको सामना गर्नुपर्छ। यस्तो सोच परिवर्तन गर्नु आवश्यक छ। वास्तवमा, उनीहरूको योगदान बिना स्वच्छ समाजको कल्पना गर्न सकिँदैन। त्यसैले उनीहरूप्रति सम्मानजनक व्यवहार गर्नु सबैको कर्तव्य हो।

सरकार, स्थानीय निकाय र सम्बन्धित संस्थाहरूले सरसफाइ कर्मचारीहरूको अवस्था सुधार गर्न आवश्यक कदम चाल्नुपर्छ। सुरक्षात्मक सामग्री उपलब्ध गराउने, नियमित स्वास्थ्य जाँच गर्ने, उचित तलब दिने, र सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने जस्ता उपायहरू आवश्यक छन्। साथै, जनचेतना बढाएर समाजमा सकारात्मक सोच विकास गर्नु पनि उत्तिकै महत्वपूर्ण छ।

अन्त्यमा, सरसफाइ कर्मचारीहरूको सुरक्षा र गरिमा सुनिश्चित गर्नु SDG ६ र SDG ८ दुवै लक्ष्य प्राप्त गर्नका लागि आवश्यक छ। यदि उनीहरूको अधिकार, सुरक्षा र सम्मानलाई प्राथमिकता दिइएन भने, स्वच्छ र समावेशी समाज निर्माण सम्भव हुँदैन। त्यसैले यस विषयमा सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक छ।

फोटोहरु : सुदिप घिमिरे


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार