खानेपानी नआएको जनगुनासो पछि पीआईडी र केयुकेएलको संयुक्त टोलीद्वारा अनुगमन

  वास खबर सम्बाददाता  226 पटक हेरिएको
🔗
37
Shares

ललितपुर : ललितपुरका केही क्षेत्रमा खानेपानी नआएको भन्ने उपभोक्ताको गुनासो प्राप्त भएपछि आज आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ।

टोलीले खुमलटार ट्याङ्कीबाट खानेपानी वितरण हुने क्षेत्रको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा पाटनको मानभवन र मङ्गलबजार क्षेत्रमा तेस्रो पक्षबाट वितरण पाइपलाइनमा भएको क्षतिका कारण नियमित रूपमा पानी वितरण गर्न समस्या भएको पाइएको पीआईडीका आयोजना निर्देशक ई. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार क्षतिग्रस्त पाइपलाइनको तत्काल मर्मत गरी सकेसम्म छिटो खानेपानी वितरण सेवा पुनः सुचारु गर्ने तयारी भइरहेको छ।

अनुगमनमा आयोजना निर्देशक श्रेष्ठ सहित पीआईडीको प्राविधिक टोली, परामर्शदाता तथा केयुकेएल जावलाखेल शाखाका प्रमुख विजय बिक र उहाँको प्राविधिक टोलीको सहभागिता रहेको थियो।

काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी वितरण प्रणालीअन्तर्गत थोक वितरण प्रणाली (Bulk Distribution System) र प्राथमिक वितरण प्रणाली (Primary Distribution System) का पाइपलाइन निर्माण तथा विस्तारको जिम्मेवारी पीआईडीले निर्वाह गर्दै आएको छ।

त्यसैगरी घर–घरमा खानेपानी पुर्‍याउने वितरण पाइपलाइन (Distribution Network) को निर्माण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी केयुकेएलले सम्हाल्दै आएको छ। यही समन्वयात्मक प्रणालीमार्फत मेलम्चीको पानी उपभोक्तासम्म पुर्‍याइँदै आएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार