गोकर्णेश्वरका जनताले पानी नपाए मेलम्चीको पाइप फुटाइदिने सांसद राजु पाण्डेको चेतावनी

  वास खबर सम्बाददाता  205 पटक हेरिएको
🔗
32
Shares

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरण नै अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ ।

संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले खानेपानी वितरणमा कर्मचारीहरूको लापरबाही र बदमासी असह्य बनेको बताउनुभयो ।

मेलम्चीको पानी आउने मुख्य क्षेत्रका बासिन्दा नै खानेपानीबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै उहाँले अब चुप लागेर नबस्ने स्पष्ट पार्नुभयो। गोकर्णेश्वरका जनताले पानी नपाए ड्याम बन्द गरिदिने र आवश्यक परे पाइप समेत फुटाइदिने चेतावनी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताले खानेपानी नपाउने हो भने त्यहाँको ड्याम हामी बन्द गरिदिन्छौँ, त्यहाँबाट पानी आउन दिँदैनौँ । पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, त्यो म आफैँ फुटाउनेवाला छु । गोकर्णको पानी गोकर्णकै जनताले खान नपाउने, अनि अन्य भेगमा लैजाने कुरा मलाई स्वीकार्य छैन ।”

शनिबार गोकर्णेश्वर पुगेका बेला स्थानीय बुवाआमाहरू पानी नपाएर रोइरहेको अवस्था देखेको उल्लेख गर्दै उहाँले गाग्री बोकेर पानी खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो ।

कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद पाण्डेले सरकारी कर्मचारीतन्त्र अझै नसुध्रिएको आरोप लगाउनुभयो। उहाँले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीहरूले मनपरी ढंगले पानी वितरण गर्ने गरेको र त्यसमा एउटा सञ्जाल सक्रिय रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईँहरूको स्टाफको सञ्जाल यस्तो छ कि साध्यै छैन । आफ्नो मन लागेको बेला मन लागेको टोलमा पानी खोलिदिने, मन नलागेको ठाउँमा नखोलिदिने । म सांसद जस्तो मान्छेले त त्यति हण्डर खानुपर्छ भने सर्वसाधारण जनताको हालत के होला ?”

रास्वपाले ‘रकेट शैली’मा काम गर्ने प्रतिबद्धतासहित सरकारमा आएको भए पनि सरकारी संयन्त्र र कर्मचारीतन्त्रकै कारण अपेक्षाअनुसार परिवर्तन हुन नसकेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हामी रकेट शैलीमा काम गर्छौँ भनेर यहाँ आएका हौँ, तर कतै केही चेन्ज छैन ।”

आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्यांकीको काम रोकिएको र गोकर्णेश्वर नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका बासिन्दा खानेपानी समस्याबाट पीडित रहेको उल्लेख गर्दै उहाँले संसदीय समितिलाई तत्काल अनुगमन गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

केयूकेएलमा नयाँ नेतृत्व आएकाले सुधारको अपेक्षा रहेको उल्लेख गर्दै उहाँले अवस्था नसुध्रिए स्थानीय जनतालाई साथमा लिएर सशक्त प्रतिरोधमा उत्रने चेतावनी पनि दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार