खानेपानी संरचनामा सुरक्षाको समुचित व्यवस्था मिलाउन मन्त्रालयको निर्देशन

  वास खबर सम्बाददाता  333 पटक हेरिएको
🔗
70
Shares

काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले खानेपानी संकलन, प्रशोधन, वितरण तथा व्यवस्थापनसँग सम्बन्धित संवेदनशील संरचनाहरूको सुरक्षा सुदृढ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले मेलम्ची खानेपानी विकास समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र नेपाल खानेपानी संस्थानलाई पत्राचार गर्दै खानेपानी प्रणालीका विभिन्न संरचनामा अनधिकृत व्यक्तिको प्रवेश रोक्न, सुरक्षा व्यवस्थापन कडा बनाउन तथा २४ सै घण्टा सिसिटिभी (CCTV) मार्फत निगरानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

मन्त्रालयका शाखा अधिकृत सुधा सुवेदीद्वारा हस्ताक्षरित पत्रमा खानेपानीका ग्राउन्ड रिजर्भ्वायर, रिजर्भ्वायर ट्याङ्की, ट्रीटमेन्ट प्लान्ट, ओभरहेड ट्याङ्की लगायतका संवेदनशील संरचनामा असम्बन्धित व्यक्ति तथा पशुचौपाया प्रवेश गर्दा दुर्घटना हुन सक्ने, खानेपानी दूषित हुने तथा समग्र आपूर्ति प्रणाली नै जोखिममा पर्न सक्ने उल्लेख गरिएको छ।

पत्रमा त्यस्ता संरचना तथा त्यसको परिसरमा अनधिकृत व्यक्तिहरू प्रवेश गर्न नसक्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन र आफ्नो कार्यक्षेत्रभित्र रहेका सबै खानेपानी संरचनाको २४ सै घण्टा सिसिटिभी मार्फत निगरानी गर्न निर्देशन दिइएको छ।

गत मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बाँसबारी प्रशोधन केन्द्रको पानी ट्यांकीभित्र एक पुरुष शव समेत भेटिएको थियो।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का आयोजना निर्देशक ई. रामकुमार श्रेष्ठले पनि काठमाडौं उपत्यकाको खानेपानी पाइपलाइन परीक्षणको क्रममा अखाद्य वस्तु भेटिने गरेको जानकारी दिँदै चिन्ता व्यक्त गर्नु भएको थियो।

समितिको बैठकमा निर्देशक श्रेष्ठले यस्ता घटनाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले खानेपानी पूर्वाधारको सुरक्षा, नियमित अनुगमन तथा निगरानी प्रणाली थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।

पछिल्ला घटनाक्रमले खानेपानी संरचनाको भौतिक सुरक्षा, निगरानी प्रणाली तथा पहुँच नियन्त्रणलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको भन्दै मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल सुरक्षा व्यवस्थापन सुदृढ गर्न निर्देशन दिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार