पुनर्भरण पोखरीबाट पानीको मुहान संरक्षणमा टेवा, अपी र मार्मामा पोखरी बनाउने अभियान

  वास खबर सम्बाददाता  272 पटक हेरिएको
🔗
52
Shares

काठमाडौं: पानीको स्रोत संरक्षण र स्थानीय तहको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा पानी पुनर्भरण पोखरी निर्माण तथा प्रवर्द्धन भैरहेको छ।

स्थानीय स्तरमा पानीको स्रोत संरक्षण र पुनर्भरणलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन स्थानीय अनुकुलन (Local Adaptation to Climate Change -LACC) परियोजना अन्तर्गत दैलेखको महाबु गाउँपालिका तथा दार्चुलाका अपी हिमाल, मार्मा र नौगाड गाउँपालिकामा रिचार्ज पोखरी निर्माण गरिएको हो।

परियोजनाका अनुसार रिचार्ज पोखरीले वर्षायाममा परेको वर्षाको पानी संकलन तथा भण्डारण गरी जमिनमुनिको पानीको सतह बढाउन सहयोग पुर्‍याउँछ। यसले माटोको कटान न्यूनीकरण गर्नुका साथै सुख्खा मौसममा पानीको उपलब्धता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

रिचार्ज पोखरीले मानव समुदाय मात्र नभई चराचुरुङ्गी तथा वन्यजन्तुका लागि पनि पानीको भरपर्दो स्रोत उपलब्ध गराउने भएकाले स्थानीय जैविक विविधताको संरक्षण र पारिस्थितिक प्रणाली निर्माणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

स्थानीय रूपमा सहजै उपलब्ध हुने सामग्रीको प्रयोगबाट निर्माण गरिएका यस्ता प्रकृतिमा आधारित दिगो समाधानहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै भविष्यका लागि पानीका स्रोत सुरक्षित राख्न समुदायलाई सहयोग पुर्‍याइरहेका छन्।

नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त वित्तीय लगानी तथा युरोपियन युनियनको सह-आर्थिक अनुदानमा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना कार्यान्वयन गर्न नेपाल सरकार र फिनल्यान्ड सरकार बीच २१ मे २०२४ मा सम्झौता भएपछि कार्यान्वयनमा आएको हो ।

उक्त परियोजना कार्यान्वयनका लागि स्वीकृत परियोजना दस्ताबेजमा भएको ब्यबस्था बमोजिम तीन तहका सरकार बीच जलवायु उत्थानशिल तथा यसका असर न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले भूमि उपयोग योजना तथा व्यवस्थापन, एकीकृत जलस्रोत व्यवस्थापन, वन पैदावर स्रोत व्यवस्थापन, वातावरणीय संरक्षण तथा व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनीकरण कार्यक्रममा प्रत्यक्ष सहयोग पुर्याउने कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

जलवायु परिवर्तन स्थानीय अनुकुलन परियोजनाको मुख्य उद्देश्य कर्णाली र सुदूरपश्चिम प्रदेशका समुदायलाई जलवायु परिवर्तनका असरहरूसँग अनुकूलन गर्न सहयोग गर्नु तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनलाई प्रवर्द्धन गर्नु हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार