
सर्लाही :सर्लाही सदरमुकाम मलङ्गवामा सञ्चालित दुई वटा पानी उद्योगमाथि कारबाही गरिएको छ। अनुगमनका क्रममा मेसिनबाट पानी भर्नुपर्नेमा हातले पानी भर्ने गरेको भेटिएपछि मलङ्गवा–९ स्थित जोया वाटर इन्डस्ट्रिज (प्रेम वाटर) को उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ। त्यसैगरी लेबलिङ नै नगरी पानी बिक्री गरेको र उद्योग नवीकरणसमेत नगरेको साह ग्रुप अफ इन्डस्ट्रिज (ब्ल्यु वाटर) लाई बन्द गराइएको छ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, खाद्य व्यवस्था तथा गुण नियन्त्रण कार्यालय मधेश प्रदेश तथा सर्लाही कार्यालयका प्रतिनिधि र अन्य प्राविधिकसहितको टोलीले बुधबार साँझ अबेरसम्म मलङ्गवाका पानी उद्योग तथा होटेलहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा मापदण्डविपरीत र लापर्बाहीपूर्ण रूपमा सञ्चालन गरिएका सात वटा होटेललाई समेत जरिबाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो।
अनुगमनका क्रममा मलङ्गवास्थित कुसुम पार्टी प्यालेस एन्ड होटेलले अखाद्य वस्तु बिक्री गरेको पाइएपछि सबैभन्दा बढी एक लाख पाँच हजार रुपैयाँ जरिबाना तिराइएको छ। यस्तै ग्रिन बेम्बो, न्यू हट अप र पञ्चवटी होटेललाई १५–१५ हजार रुपैयाँ तथा नवरङ्ग, महेन्द्र र अन्नपूर्ण होटेललाई २०–२० हजार रुपैयाँ जरिबाना गरिएको छ।
गृहमन्त्री महतोले अनुगमनका क्रममा अधिकांश होटेलको भान्सा अत्यन्त फोहोर रहेको, सरसफाइमा बेवास्ता गरिएको, अखाद्य वस्तु भण्डारण गरिएको तथा कुहिन थालेका र गुणस्तरहीन खाद्यवस्तु उपभोक्तालाई खुवाउने गरिएको अवस्था भेटिएको बताउनुभयो। बाहिरबाट आकर्षक देखिने धेरै होटेलका भान्साघरभित्र भने सरसफाइको अवस्था निकै दयनीय रहेको उहाँको भनाइ छ।
सर्लाही र धनुषामा गरिएको अनुगमनपछि प्रदेशका अन्य जिल्लाका होटेल व्यवसायीले समेत सरसफाइमा ध्यान दिन थालेको सूचना प्राप्त भएको मन्त्री महतोले बताउनुभयो। अनुगमनका क्रममा बरामद गरिएका अखाद्य खाद्यवस्तु तथा खाना नष्ट गरिएको मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ।
यसअघि मङ्गलबार मन्त्री महतो नेतृत्वको टोलीले सर्लाहीको लालबन्दी, हरिवन, नयाँरोड, बागमती र बरहथवाका होटेलहरूको अनुगमन गरी लापर्बाही गर्ने एक दर्जन होटेललाई चार लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको थियो।


165 पटक हेरिएको 

