
जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा जडान गरिएका सामुदायिक खानेपानी तथा सिँचाइका बोरिङ, डिप बोरिङ, पम्पसेट र इनारबाट पानी उपलब्ध गराउँदा चर्को शुल्क नलिन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न दातृ निकायको अनुदानमा विगतका वर्षहरूमा जडान गरिएका भूमिगत पानीका स्रोतबाट केही जग्गाधनीले अत्यधिक शुल्क लिएर मात्र खानेपानी तथा सिँचाइ सुविधा उपलब्ध गराउने गरेको गुनासो आएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सूचना जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो।
सूचनामा मनसुन सुरु भइसके पनि धनुषाको कमला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिकालगायत केही स्थानीय तहका वडा तथा बस्तीमा पानीका मुहान सुक्नुका साथै बोरिङमा समेत पानी नआउने समस्या देखिएको उल्लेख छ।
प्रभावित क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाउन स्थानीय वडा, पालिका तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले सरकारी अनुदानमा निर्माण गरिएका यस्ता स्रोतबाट समुदायले निर्धारण गरेको सर्वसुलभ दरमै खानेपानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन आग्रह गरेको छ। साथै, अनावश्यक व्यक्तिगत लाभ वा नाफा कमाउने उद्देश्यले चर्को शुल्क असुलेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ। गोरखापत्रबाट साभार ।


141 पटक हेरिएको 

