
स्याङ्जा : वालिङ साना सहरी खानेपानी उपभोक्ता संस्थाको साधारणसभा संस्थाकी अध्यक्ष विध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सभाको आर्थिक विकास समितिका सभापति भोजराज अर्यालले वालिङ साना सहरी खानेपानी आयोजना प्रदेशकै उदाहरणीय आयोजना भएको उल्लेख गर्नुभयो। विभिन्न जटिलता र चुनौतीका बाबजुद संस्थाले निरन्तर संघर्ष गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाएको भन्दै उहाँले गण्डकी प्रदेशबाट विद्युत् महसुलमा छुट उपलब्ध गराउन सफल भएको जानकारी दिनुभयो।
राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी क्षेत्रलाई अपेक्षित प्राथमिकतामा नराखेको टिप्पणी गर्नुभयो। अन्य विकास आयोजनामा जनसहभागिता अनिवार्य नहुने अवस्थामा खानेपानी आयोजनामा भने ३० प्रतिशत सम्म जनसहभागिता गराउनु उपयुक्त नभएको उहाँको भनाइ थियो। साथै सरकारले ल्याएको नयाँ खानेपानी ऐनका केही प्रावधान प्रति महासंघको असहमति रहेको उल्लेख गर्दै त्यसको पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, गण्डकी प्रदेशका प्रदेश सभा सदस्यले खानेपानी नागरिकको आधारभूत अधिकार तथा सरकारको दायित्व भएको बताउँदै प्रदेश सरकारका प्रतिनिधिका रूपमा खानेपानी क्षेत्रको विकास र उपभोक्ताको हितका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभामा संस्थाको प्रगति, आगामी योजना तथा खानेपानी सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।


141 पटक हेरिएको 

