
दाङ : घोराही उपमहानगरपालिकाले हालसम्म ९२ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच विस्तार गरेको जनाएको छ । स्थानीय सरकार गठनपछि अघि सारिएको ‘एक घर, एक धारा’ अभियान अन्तर्गत विभिन्न खानेपानी आयोजना मार्फत अधिकांश नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याइएको उपमहानगरले जनाएको छ ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले सङ्घीय तथा प्रदेश सरकारका सम्बन्धित निकाय, उपभोक्ता समिति तथा स्थानीय समुदायको सहकार्यमा हालसम्म १०८ वटा कुवा र ७७ वटा डिप बोरिङ निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले यी पूर्वाधार मार्फत खानेपानीको पहुँच नपुगेका बस्तीमा सुरक्षित पानी उपलब्ध गराइएको बताउनुभयो ।
“स्थानीय सरकार बनेपछि उपमहानगरपालिकाले प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यसहित योजना कार्यान्वयन गरिरहेको छ,” नगरप्रमुख चौधरीले भन्नुभयो, “सबै नागरिकलाई स्वच्छ खानेपानीको अधिकार सुनिश्चित गर्न लागिरहेका छौँ ।” उहाँले खानेपानी पुर्याउन नसकिएको ठाउँमा समुदाय, प्रदेश र सङ्घीय सरकारको सम्बन्धित निकायसँग नियमित छलफल गरिरहेको बताउनुभयो ।
“हामीले जहाँ डिप बोरिङबाट खानेपानी वितरण गर्न सम्भव छ, त्यहाँसम्म पाइपलाइन मार्फत धारा विस्तार गरेका छौँ,” उहाँले भन्नुभयो, “डिप बोरिङ सम्भव नभएका स्थानमा कुवा निर्माण गरी स्थानीयवासीलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराएका छौँ ।”
उहाँका अनुसार खानेपानीको पहुँच विस्तारसँगै नगरवासीको दैनिक जीवनयापन गर्नमा सहज भएको छ । उहाँले सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध हुँदा पानीजन्य रोगको जोखिम न्यूनीकरण हुनुका साथै पानीको जोहो गर्न खर्चिने समय पनि घटेको बताउनुभयो ।
निर्माण गरिएका खानेपानी संरचनाको संरक्षण, सञ्चालन र मर्मतसम्भारमा उपभोक्ता समिति तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख चौधरीले अझै खानेपानीको पहुँच नपुगेका बस्तीमा समेत क्रमशः योजना विस्तार गर्दै शतप्रतिशत घरधुरीमा स्वच्छ खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
“हामीले यी योजनालाई निरन्तरता दिएका छौँ,” उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा खानेपानी पुर्याउन नसकिएको ठाउँमा उपमहानगरपालिकाले योजना बढाइरहेको छ ।” राष्ट्रिय जनगणना–२०७८ अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७६१ घरधुरी र कुल दुई लाख ५३० जनसङ्ख्या रहेको छ । गोरखापत्र दैनिकबाट।


136 पटक हेरिएको 

