२८ वर्ष पुरानो अधेरीखोला खानेपानी आयोजनाको स्तरोन्नति तथा सहलगानी कार्यक्रम सुरु

  वास खबर सम्बाददाता  166 पटक हेरिएको
🔗
20
Shares

नवलपुर : अधेरीखोला खानेपानी उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएको २८ वर्ष पुरानो खानेपानी आयोजनाको स्तरोन्नति तथा सहलगानी कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ।

संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव केशव न्यौपाने, उपाध्यक्ष मोनिक क्षेत्री, कोषाध्यक्ष विष्णु लामिछाने, सहसचिव दिपा पाण्डे तथा कार्यालय प्रमुख रुक्मगत बस्याललगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा हाल सञ्चालनमा रहेको २८ वर्ष पुरानो खानेपानी आयोजनालाई समयानुकूल स्तरोन्नति गरी सेवा विस्तार गर्ने तथा आवश्यक आर्थिक स्रोत व्यवस्थापनका लागि सहलगानी कार्यक्रम अघि बढाइएको जानकारी दिइयो।

हाल संस्था अन्तर्गत १,३१० वटा धारा सञ्चालनमा रहेका छन्। तर, बढ्दो जनसंख्या र उपभोक्ताको मागका कारण विद्यमान खानेपानी आपूर्ति पर्याप्त हुन नसकेको संस्थाले जनाएको छ। आवश्यक पूर्वाधार विस्तार, प्रणाली सुधार तथा सेवा विस्तारका लागि आर्थिक स्रोतको अभाव प्रमुख चुनौतीका रूपमा रहेको पनि कार्यक्रममा उल्लेख गरिएको थियो।

संस्थाको कार्यसमिति सीमित स्रोत–साधनका बीच पनि खानेपानी सेवाको गुणस्तर सुधार गर्दै उपभोक्तालाई नियमित, भरपर्दो र पर्याप्त खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ सक्रिय रूपमा कार्यरत रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार सहलगानी कार्यक्रममार्फत आवश्यक आर्थिक स्रोत जुटाई आयोजनाको स्तरोन्नति गरिनेछ। यसबाट भविष्यमा बढ्दो उपभोक्ता मागलाई क्रमिक रूपमा सम्बोधन गर्दै अझ प्रभावकारी र दिगो खानेपानी सेवा प्रवाह गर्न सकिने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार