बागरमा खानेपानी संकट : मुहान नजिकै भए पनि आधा घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता

  वास खबर सम्बाददाता  161 पटक हेरिएको
🔗
44
Shares

तुलसीपुर : दाङको दङ्गीशरण गाउँपालिका–६ बागरका स्थानीयवासी लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका छन्। गाउँको बीचमै रहेका दुई प्राकृतिक मुहान पर्याप्त पानीका स्रोत भए पनि आवश्यक पूर्वाधारको अभावका कारण त्यहाँको पानी व्यवस्थित रूपमा संकलन र वितरण हुन नसक्दा स्थानीयलाई दैनिक जीवन सञ्चालनमै कठिनाइ भइरहेको छ।

ओभरहेड ट्याङ्की निर्माण नहुँदा मुहानबाट बग्ने पानी खेर जाने गरेको छ भने गाउँमा खानेपानीको हाहाकार मच्चिएको स्थानीय बताउँछन्।

स्थानीय सीता चौधरीका अनुसार पानी ल्याउनका लागि घरबाट मुहानसम्म पुग्न करिब आधा घण्टा हिँड्नुपर्छ। त्यहाँ पुगेपछि पनि एक घण्टासम्म पालो कुर्नुपर्ने बाध्यता छ। “पानी ल्याउन पोखरीसम्म पुग्न आधा घण्टा लाग्छ, मुहानमा पुगेपछि पनि पालो पाउन निकै गाह्रो हुन्छ,” उहाँले भन्नुभयो। दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउनै घण्टौं समय खर्चिनुपर्दा घरधन्दा, खेतीपाती र बालबालिकाको हेरचाहमा समेत असर परेको उहाँको भनाइ छ।

बागर क्षेत्रमा करिब डेढ सय घरपरिवार बसोबास गर्छन्। ठन्डीबजार, बनखल्यान, नयाँगाउँ, गोठीगाउँ लगायतका बस्तीमा वर्षौंदेखि खानेपानीको समस्या दोहोरिँदै आएको छ। स्थानीय एमेशन चौधरीका अनुसार गाउँका दुई मुहानको पानीलाई एउटै ओभरहेड ट्याङ्कीमा संकलन गरेर पाइपमार्फत वितरण गर्न सके सम्पूर्ण बस्तीलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन सकिन्छ। “दुईवटा मुहानलाई एउटै ट्याङ्कीमा जम्मा गरेर वितरण गर्ने व्यवस्था भए अहिले जस्तो घण्टौं पालो कुर्नुपर्ने अवस्था आउने थिएन,” उहाँले भन्नुभयो।

गाउँमा केही वर्षअघि डिपबोरिङसमेत खनिएको थियो। त्यसपछि अधिकांश घरमा धारा जडान गरियो र सुरुआती केही समय धाराबाट नियमित पानी पनि आयो। तर आवश्यक भण्डारण संरचना नहुँदा डिपबोरिङबाट निकालिएको पानी प्रभावकारी रूपमा व्यवस्थापन हुन सकेन।

स्थानीय निमबहादुर खत्रीका अनुसार पानी संकलन गर्ने ट्याङ्की नहुँदा ठूलो परिमाणमा पानी खेर गयो र विस्तारै पानीको सतह मोटरको पहुँचभन्दा तल झरेपछि धारामा पानी आउनै बन्द भयो। “ट्याङ्कीको व्यवस्था भएको भए पानी जोगिन्थ्यो, अहिले सबै धारा सुक्खा छन्,” उहाँले भन्नुभयो।

स्थानीयवासीले खानेपानी समस्या समाधानका लागि गाउँपालिका, प्रदेश सरकार तथा संघीय सरकारसम्म पटक–पटक गुहार लगाए पनि अहिलेसम्म कुनै ठोस पहल हुन नसकेको गुनासो गरेका छन्। चुनावका बेला खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइए पनि त्यसअनुसार काम अघि नबढेको उनीहरूको भनाइ छ। स्थानीयको माग छ– गाउँका दुई मुहानको पानी संरक्षण गर्दै ओभरहेड ट्याङ्की निर्माण र प्रभावकारी वितरण प्रणाली स्थापना गरिए बागरका सयौं परिवारले वर्षौंदेखिको खानेपानी संकटबाट मुक्ति पाउनेछन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार