कहिल्यै नसुक्ने मुहान सुकेपछि धारामा पानी आउन बन्द

  हुम्ला समाचारदाता  201 पटक हेरिएको
🔗
37
Shares

हुम्ला : सिमकोट गाउँपालिका–७ स्थित डाँडाफयाँ गाउँमा खानेपानीको समस्या चर्किएको छ। वर्षौंअघि स्थानीय मुहानबाट निर्माण गरिएका धारामा पानी आउन छाडेपछि करिब साढे तीन सय घरधुरी प्रभावित भएका छन्।

स्थानीय मन्दिर सिंहले गाउँलेले लामो समयदेखि गाउँमै रहेको मुहानको पानी धारा निर्माण गरेर उपभोग गर्दै आएको बताउनु भयो। तर यस वर्ष मुहान सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको उहाँको भनाइ छ।

उहाँका अनुसार मुहानमा पानीको मात्रा अत्यन्तै घटेका कारण अहिले दुईवटा धारामा पानी थाप्न भाँडा राख्नुपर्ने अवस्था छ। एउटा भाँडा भरिन नै पाँचदेखि छ घण्टासम्म लाग्ने उहाँले बताउनु भयो। करिब २७ वर्षअघि निर्माण गरिएका ती धारामा अहिले नियमित रूपमा पानी आउन छाडेको उहाँको भनाइ छ।

मुहानको पानी सुक्यो वा अन्यत्र चुहिएर गयो भन्नेबारे उपभोक्तालाई स्पष्ट जानकारी नभएको उहाँले बताउनु भयो। मनसुन सुरु भइसकेको भए पनि डाँडाफयाँमा भने खानेपानीको समस्या झन् गम्भीर बन्दै गएको उहाँको भनाइ छ।

गाउँका अन्य दुई टोलमा पनि छुट्टाछुट्टै मुहानबाट खानेपानीको व्यवस्था गरिएको भए पनि ती मुहानमा समेत पानीको मात्रा घट्दै गएको उहाँले बताउनु भयो। विगतदेखि दलित समुदायले प्रयोग गर्दै आएको छुट्टै मुहान भने अहिले पनि सञ्चालनमा रहेको छ।

डाँडाफयाँ गाउँ मात्र नभई सोही समुदायको लेकाली बस्ती ओख्रेनमा पनि खानेपानीको समस्या उस्तै रहेको स्थानीय यज्ञबहादुर शाहीले बताउनु भयो। उहाँका अनुसार करिब १५ वर्षअघि निर्माण गरिएका धारा जीर्ण बन्दै गएपछि त्यहाँ पनि खानेपानीको अभाव भएको हो।

बर्खायाममा डाँडाफयाँ र हिउँदमा ओख्रेन बस्ने एउटै समुदायले दुवै बस्तीमा खानेपानीको समस्या झेल्नुपरेको उहाँले बताउनु भयो। समस्या समाधानका लागि सम्बन्धित निकायसँग पटक–पटक आग्रह गरे पनि हालसम्म प्रभावकारी पहल नभएको उहाँको गुनासो छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार