मुहान सुकेपछि भिई गाउँमा खानेपानी संकट, रातको समयमा पनि पानीकै लागि लाइन

  वास खबर सम्बाददाता  143 पटक हेरिएको
🔗
11
Shares

मुगु : लामो समयदेखि वर्षा नहुँदा मुगुको सोरु गाउँपालिका–३ स्थित भिई गाउँका खानेपानीका मुहान सुक्न थालेपछि स्थानीयवासी गम्भीर खानेपानी संकटमा परेका छन्। खानेपानीको अभाव भएपछि करिब चार सय घरधुरीका बासिन्दा राति २ बजेदेखि नै सार्वजनिक धारामा पालो कुर्न बाध्य भएका छन्।

स्थानीयवासीका अनुसार भिई गाउँका आठवटा बस्तीका लागि एउटा मात्रै सार्वजनिक धारा रहेको छ। खडेरीका कारण मुहानमा पानीको मात्रा घटेपछि धारामा पर्याप्त पानी आउन छाडेको हो।

भिई गाउँकी कक्षा ६ मा अध्ययनरत सीता धामीले गत कात्तिकयता गाउँमा उल्लेख्य वर्षा नभएको बताउनुभयो। पानीको अभावका कारण घरमा आवश्यक मात्रामा पानी उपलब्ध हुन नसक्दा व्यक्तिगत सरसफाइमा समेत समस्या भएको उहाँले बताउनुभयो। विद्यालय जाने बालबालिकासमेत नियमित सरसफाइ गर्न नपाएको उहाँको भनाइ छ।
स्थानीय कृषक जौमती नेपालीले लामो खडेरीका कारण चरन क्षेत्रमा घाँस नउम्रिएको र पिउने पानीको अभाव भएपछि छिमेकीका चार वटा बाख्रा मरेको जानकारी दिनुभयो। उहाँका अनुसार मानिससँगै चौपायासमेत खानेपानी अभावको मारमा परेका छन् भने हिउँदे बालीसमेत सुक्न थालेको छ।

सोरु गाउँपालिका–३ का वडाध्यक्ष नवराज धामीले भिई गाउँका अधिकांश खानेपानीका मुहान सुकेपछि स्थानीयलाई पिउने पानीको गम्भीर समस्या भएको बताउनुभयो। उहाँका अनुसार वडाको आसपास वैकल्पिक पानीका स्रोतसमेत छैनन्।

वडाध्यक्ष धामीले सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानी सुविधा विस्तारका लागि संघीय सरकारअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, सुर्खेतको समन्वयमा बृहत् खानेपानी आयोजना सञ्चालन गरिएको बताउनुभयो। तर आयोजना निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि गाउँमा नियमित खानेपानी सेवा उपलब्ध हुन नसकेको उहाँको भनाइ छ।

आयोजना समयमै सम्पन्न हुन नसक्दा स्थानीयले अहिले पनि खानेपानीको चरम अभाव झेल्नुपरेको वडाध्यक्ष धामीले बताउनुभयो। साभार : गोरखापत्र अनलाइन।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार