खानेपानी व्यवस्थापनमा ‘बोर्ड मोडल’ तर्फ आकर्षित हुँदै मकवानपुरका स्थानीय सरकार

  सुरज कुमार भुजेल  202 पटक हेरिएको
🔗
26
Shares

मकवानपुर: मकवानपुरका स्थानीय तहहरू खानेपानी व्यवस्थापनलाई थप व्यवस्थित, दिगो र उत्तरदायी बनाउन ‘बोर्ड मोडल’ तर्फ आकर्षित हुन थालेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाले सफलतापूर्वक सञ्चालन गरिरहेको खानेपानी व्यवस्थापन बोर्डको अभ्यासलाई पछ्याउँदै अन्य पालिकाहरूले पनि आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा बोर्ड गठन तथा एकद्वार प्रणाली मार्फत खानेपानी सेवा सञ्चालन गर्ने नीति अघि सारेका छन्।

थाहा र हेटौंडाको सफल अभ्यासबाट प्रेरित हुँदै कैलाश, राक्सिराङ र मकवानपुरगढीले पनि बोर्ड गठनको नीति लिए

यसअघि नेपाल सरकारको तत्कालीन खानेपानी मन्त्रालयको पहलमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड गठन भएको थियो भने स्थानीय तहबाट पहिलो पटक थाहा नगरपालिकाले वि.सं. २०७६ मा ऐन मार्फत थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड स्थापना गरेको थियो। अहिले यी दुई अभ्यासलाई नमुनाका रूपमा लिँदै अन्य पालिकाहरू पनि ‘बोर्ड मोडल’ अपनाउने तयारीमा छन्।

कैलाशमा बोर्ड मार्फत खानेपानी व्यवस्थापन

दुर्गम कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डलाई सक्रिय बनाउने नीति लिएको छ। ‘एक घर, एक धारा’ अभियानअन्तर्गत निर्माणाधीन आयोजनाहरू सम्पन्न गरी हस्तान्तरण गर्ने तथा तिनको दिगो सञ्चालन बोर्डमार्फत गर्ने पालिकाको योजना छ।

पालिकाले NWASH-MIS प्रणालीमा आधारित खानेपानी तथा सरसफाइ योजना अद्यावधिक गर्ने, खानेपानी गुरुयोजना तयार गर्ने, विद्युतमा आधारित खानेपानी प्रणालीलाई सहुलियत उपलब्ध गराउने, नियमित पानी परीक्षण संस्थागत गर्ने र मर्मत कोषलाई प्रभावकारी रूपमा परिचालन गर्ने नीति लिएको छ।

साथै, ‘पूर्ण सरसफाइ उन्मुख पालिका’ घोषणा गर्ने लक्ष्यसहित सार्वजनिक स्थल, विद्यालय र स्वास्थ्य संस्थामा बालमैत्री तथा अपाङ्गतामैत्री शौचालय निर्माण तथा मर्मतलाई पनि प्राथमिकतामा राखिएको छ।

राक्सिराङ र मकवानपुरगढीमा पनि बोर्ड गठन

राक्सिराङ गाउँपालिकाले खानेपानी आयोजनाको दिगो व्यवस्थापन तथा समुदायमा आधारित सेवा प्रवाहका लागि खानेपानी बोर्ड गठन गर्ने नीति अघि सारेको छ। बोर्डमार्फत खानेपानी सेवा व्यवस्थापनसँगै मुहान संरक्षण र सरसफाइ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै, मकवानपुरगढी गाउँपालिकाले पनि खानेपानी बोर्ड गठन गरी गाउँपालिकाभित्रका खानेपानी उपभोक्ता समितिहरूलाई बोर्डमा आबद्ध गर्ने निर्णय गरेको छ। ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिँदै नियमित खानेपानी वितरणलाई एकीकृत व्यवस्थापन प्रणालीमा लैजाने पालिकाको लक्ष्य रहेको छ।

थाहा नगरपालिकाको नमुना अभ्यास

थाहा नगरपालिकाले वि.सं. २०७६ मै ऐन मार्फत खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन गरी सेवा सञ्चालन गर्दै आएको छ। बोर्डका अध्यक्ष तथा नगर प्रमुख विष्णुबहादुर विष्टका अनुसार खानेपानी तथा सरसफाइका सम्पूर्ण कार्यलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न बोर्ड प्रभावकारी बनेको छ।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘खानेपानी सेवा पालिकाको अभिभारा, मिटरसहितको एक घर–एक धारा’ नीतिलाई निरन्तरता दिइएको छ। खानेपानी योजनाको कार्यान्वयन, उपभोक्ता समिति दर्ता तथा नवीकरण, अनुगमन र नियमन बोर्डमार्फत गर्ने, विपद् व्यवस्थापन कोष स्थापना गर्ने, खानेपानी पूर्वाधारको बीमाको सम्भावना अध्ययन गर्ने तथा आफ्नै खानेपानी परीक्षण प्रयोगशाला स्थापना गर्ने योजना नगरपालिकाले अघि सारेको छ।

हाल थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले वडा नं. १, २, ३, ४, ८, ११ र १२ का विभिन्न खानेपानी आयोजना सञ्चालन गरिरहेको छ।

बोर्डका प्रशासकीय अधिकृत सुरज भुजेलका अनुसार खानेपानी र सरसफाइलाई सँगसँगै अघि बढाउँदा सेवा प्रभावकारी बनेको छ। बोर्डकी कार्यकारी निर्देशक शकुन्तला गुरुङले समुदायको सहभागितामा सञ्चालन हुने प्रणाली दिगो हुने भएकाले उपभोक्ता समितिलाई समन्वयकारी भूमिकामा राखी बोर्डले एकीकृत सेवा प्रवाह गरिरहेको बताइन्।

हेटौंडा : नेपालकै पुरानो ‘बोर्ड मोडल’

नेपालमा खानेपानी व्यवस्थापन बोर्डको सफल अभ्यासमध्ये हेटौंडा अग्रणी मानिन्छ। नेपाल खानेपानी संस्थानले सञ्चालन गर्दै आएको सेवा वि.सं. २०६४ देखि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमार्फत सञ्चालन हुँदै आएको छ।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पनि बोर्ड र खानेपानी उपभोक्ता समितिसँगको सहकार्यमा सुरक्षित तथा गुणस्तरीय खानेपानी सेवा विस्तार गर्ने, परम्परागत पोखरी, ढुङ्गेधारा र मुहान संरक्षण गर्ने, भूमिगत पानी पुनर्भरण क्षेत्रको पहिचान तथा एकीकृत खानेपानी र ढल व्यवस्थापन आयोजना अघि बढाउने नीति समावेश गरिएको छ।

बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार दीर्घकालीन योजना र पूर्वाधार विस्तारका कारण अन्य सहरमा सुख्खायाममा देखिने खानेपानी संकट हेटौंडामा न्यून भएको छ।

सूचना अधिकारी सञ्जयकुमार न्यौपानेका अनुसार सेवा विस्तार भएका अधिकांश क्षेत्रमा नियमित खानेपानी वितरण भइरहेको छ। हावाहुरीका कारण विद्युत् आपूर्तिमा समस्या आउँदा पम्पिङ प्रणालीमा आधारित केही स्थानमा अल्पकालीन असर पर्ने गरे पनि समग्र सेवा सहज रहेको उनले बताए।

अन्य पालिकाको प्राथमिकता पनि सुरक्षित खानेपानी

जिल्लाका अन्य स्थानीय तहहरूले पनि खानेपानी तथा सरसफाइलाई प्राथमिकतामा राखेका छन्।

मनहरी गाउँपालिकाले NWASH प्रणाली व्यवस्थित गर्ने, सोलारजस्ता वैकल्पिक ऊर्जामा आधारित बृहत् खानेपानी आयोजना सञ्चालन गर्ने तथा मुहान र ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने नीति लिएको छ।

बकैया गाउँपालिकाले WASH Plan का आधारमा खानेपानी स्रोत पहिचान गर्दै ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिने र खानेपानी संस्थासँग सहकार्य बढाउने नीति अघि सारेको छ।

बागमती गाउँपालिकाले सुनौलो हजार दिनका परिवारलाई सुरक्षित खानेपानी सुनिश्चित गर्ने, पानी परीक्षण, मुहान संरक्षण, WASH योजना तर्जुमा तथा गैरसरकारी संस्थासँग सहकार्य गर्ने नीति लिएको छ। ‘हाम्रो पानी, हाम्रो योजना : समृद्ध बागमतीको सपना’ र ‘शुद्ध पानी, दिगो विकास : बागमती गाउँपालिकाको विश्वास’ भन्ने नारालाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएको छ।

भिमफेदी गाउँपालिकाले सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आवश्यकता अनुसार ठूला, मझौला र साना खानेपानी आयोजना सञ्चालन गर्ने तथा मुहान संरक्षण र मर्मतसम्भारलाई निरन्तरता दिने नीति लिएको छ।

त्यस्तै, इन्द्रसरोवर गाउँपालिकाले सुरक्षित खानेपानीमा सबैको पहुँच विस्तार गर्ने र फोहोरमैला व्यवस्थापन तथा सरसफाइ अभियानलाई प्रभावकारी बनाउने दुई प्रमुख नीति अघि सारेको छ।

बोर्ड मोडलप्रति बढ्दो विश्वास

मकवानपुरका स्थानीय तहहरूले अपनाउन थालेको ‘बोर्ड मोडल’ले खानेपानी सेवालाई एकीकृत, दिगो र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। सेवा सञ्चालन, पूर्वाधार मर्मत, पानीको गुणस्तर परीक्षण, उपभोक्ता समिति व्यवस्थापन तथा नियमनजस्ता कार्य एउटै संरचनाबाट सञ्चालन गर्न सकिने भएकाले यो मोडलप्रति स्थानीय सरकारहरूको आकर्षण बढ्दै गएको देखिन्छ।

थाहा नगरपालिका र हेटौंडाको अनुभवले यसको प्रभावकारिता पुष्टि गरेपछि अब मकवानपुरका अन्य पालिकाहरू पनि यही अभ्यासलाई संस्थागत गर्ने दिशामा अघि बढेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार