
स्याङ्जा : स्याङ्जाको ऐतिहासिक तथा पुरातात्त्विक कालाभैरव मन्दिर र जिल्लाको पुरानो सदरमुकाम क्षेत्र नुवाकोटमा खानेपानी ट्यांकी निर्माण गरिएको छ । वर्षौंदेखिको खानेपानी समस्या समाधानका लागि नेपाली सेनाले २० हजार लिटर क्षमताको आधुनिक खानेपानी ट्यांकी निर्माण गरेको हो ।
गुल्मका गुल्मपति सेनानी राजेश उप्रेतीका अनुसार स्थानीयको आवश्यकता पहिचान गरी खानेपानी ट्यांकी निर्माण गरिएको हो । खानेपानीको आपूर्ति व्यवस्थित बनाउन ट्यांकी निर्माण गरी सञ्चालनमा ल्याइएको उनले बताए । उनका अनुसार योजना निर्माणमा स्थानीय सफल श्रेष्ठ, ज्येष्ठ नागरिक तथा स्थानीय उपभोक्ता लेखबहादुर केसीलगायतको सहयोग रहेको छ ।
‘स्थानीयलाई प्रत्यक्ष लाभ पुर्याउने योजनालाई प्राथमिकतामा राखेर ट्यांकी निर्माण गरिएको हो,’ उपरथी थापाले भने, ‘नुवाकोटमा निर्माण गरिएको खानेपानी योजनाले स्थानीय बासिन्दा, धार्मिक पर्यटक तथा मन्दिर पुग्ने सबैलाई सहजता दिने विश्वास लिएका छौं ।’ नुवाकोट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले जिल्लाकै महत्त्वपूर्ण क्षेत्र भएकाले खानेपानी पूर्वाधार निर्माणले त्यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले खानेपानी योजना निर्माणमा सहयोग गरेको भन्दै नेपाली सेनाप्रति आभार व्यक्त गरे । उनले नुवाकोटको ऐतिहासिक र पर्यटकीय महत्त्वलाई ध्यानमा राख्दै आन्तरिक पर्यटन प्रवर्धनमा सेनासँग सहकार्य र हातेमालो गर्ने बताए ।
निर्माण सम्पन्न भएसँगै सेनाले उक्त योजना पुतलीबजार नगरपालिका तथा पुतलीबजार नगरपालिका–५ का स्थानीय उपभोक्तालाई सञ्चालनको जिम्मा दिएको छ । स्थानीयले खानेपानी ट्यांकी निर्माणसँगै स्वच्छ र नियमित खानेपानीको पहुँच विस्तार भएको भन्दै खुसी व्यक्त गरेका छन् । पानी ट्यांकी सञ्चालनमा आएपछि त्यस क्षेत्रका करिब ८० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । कारोबार दैनिकबाट।


160 पटक हेरिएको 

