
काठमाडौं: सरकारले काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनसँग सम्बन्धित पाँच वटा निकायलाई एकीकृत गरी नयाँ प्राधिकरण गठन गर्ने तयारी अघि बढाएको छ। यही असार ३० गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम पूर्वाधार विकास मन्त्रालयले
यसका लागि सम्बन्धित निकायलाई आफ्नो वित्तीय, भौतिक, जनशक्ति, सम्पत्ति तथा दायित्व सम्बन्धी विवरण अद्यावधिक गरी हस्तान्तरणको तयारी गर्न निर्देशन दिइएको हो।
पूर्वाधार विकास मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पत्राचार गर्दै आवश्यक पूर्वतयारी तत्काल अघि बढाउन निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ वैशाख ३० गतेको निर्णयबाट स्वीकृत ‘संरचनाहरूको खारेजी, एकीकरण तथा पुनर्सरचना सम्बन्धी प्रतिवेदन (भाग–१)’ अन्तर्गत साबिक खानेपानी मन्त्रालयसँग सम्बन्धित शासकीय सुधारका १०० कार्यसूची मध्ये बुँदा नम्बर ७५ कार्यान्वयन गर्ने क्रममा यो प्रक्रिया अघि बढाइएको हो।
शासकीय सुधारका १०० कार्यसूचीको ७५ औं बुँदामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभाग सम्मिलित एक “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन गर्ने उल्लेख गरिएको थियो।
उक्त निर्णय अनुसार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल खानेपानी संस्थानको केन्द्रीय कार्यालय तथा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग लाई एकीकृत गरी एउटै प्राधिकरण स्थापना गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
यसका लागि सम्बन्धित निकायलाई आफ्नो वित्तीय अवस्था, भौतिक सम्पत्ति, जनशक्ति, चल–अचल सम्पत्ति, दायित्व तथा अन्य अभिलेखहरूको विवरण अद्यावधिक गर्न तथा हस्तान्तरण प्रक्रियाका लागि आवश्यक सम्पूर्ण पूर्वतयारी यथाशीघ्र सम्पन्न गर्न मन्त्रालयले निर्देशन दिएको छ।
सरकारले सार्वजनिक संस्थान तथा सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र समन्वित बनाउने उद्देश्यले संस्थागत पुनर्संरचना तथा एकीकरणको नीति अघि बढाइरहेको सन्दर्भमा खानेपानी क्षेत्रका प्रमुख निकायलाई एउटै प्राधिकरणअन्तर्गत ल्याउने तयारीलाई महत्वपूर्ण प्रशासनिक सुधारका रूपमा हेरिएको छ।


843 पटक हेरिएको 

