
धनकुटा : धनकुटा बजारमा वितरण गरिने खानेपानीलाई थप शुद्ध बनाउन लहरेबरमा नयाँ सेडिमेन्टेसन (धमिलो पानी थिगार्ने) ट्याङ्की र रफिङ फिल्टर ट्याङ्की निर्माण गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटा र धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको लागत साझेदारीमा प्रतिसेकेन्ड १० लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमताका दुईवटा संरचना निर्माण गरिएको हो।
परियोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाले ६४ लाख २८ हजार रुपैयाँ तथा उपभोक्ता समितिले १६ लाख ७ हजार रुपैयाँ लगानी गरेका छन्। साथै कार्यालयले ११ लाख ५० हजार रुपैयाँ मूल्यका ६० हर्सपावर क्षमताका दुईवटा पानी तान्ने मोटर, गेट भल्भ र फ्लान्च सेटसमेत समितिलाई उपलब्ध गराएको छ।
धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराले २०७२ सालको भूकम्प तथा त्यसपछिका प्राकृतिक प्रकोपका कारण पुरानो फिल्टर प्रणाली क्षतिग्रस्त भएपछि नयाँ शुद्धीकरण प्रणाली जडान गरिएको बताउनुभयो।
उहाँका अनुसार उपभोक्ताले महँगो महसुल तिरे पनि पर्याप्त र शुद्ध खानेपानी नपाएको गुनासो निरन्तर आइरहेकाले त्यसलाई सम्बोधन गर्न नयाँ प्रणाली निर्माण गरिएको हो।
सल्लेरी प्रणालीअन्तर्गत निर्माण गरिएको यस शुद्धीकरण पूर्वाधारबाट धनकुटा नगरपालिकाका वडा नं. ५, ६ र ७ का करिब २ हजार ५ सय उपभोक्ताले शुद्ध खानेपानी पाउने उपभोक्ता समितिले जानकारी दिएको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।


205 पटक हेरिएको 

