थाहा नगरको मझुवा चिसापानी लिफ्टिङ खानेपानी आयोजनाको स्थलगत अनुगमन

  वास खबर सम्बाददाता  115 पटक हेरिएको
🔗
8
Shares

मकवानपुर : थाहा नगरपालिकाको वडा नं. ७ मा निर्माणाधीन मझुवा चिसापानी लिफ्टिङ खानेपानी आयोजनाको ६ साउनमा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्ट, नगरस्तरीय अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा, थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डकी कार्यकारी निर्देशक शकुन्तला गोपाली, प्रशासकीय अधिकृत सुरजकुमार भुजेल, स्थानीय समाजसेवी बिमलकुमार ढकाल लगायतको टोलीले खानेपानी आयोजनाको अनुगमन तथा निरिक्षण गरिएको हो।

विगत लामो समयदेखि निर्माणाधीन उक्त आयोजनामा थाहा नगरपालिकाको विकास साझेदार संस्था च्वाइस नेपाल, जिल्ला समन्वय समिति मकवानपुर, बागमती प्रदेश सरकार तथा थाहा नगरपालिकाको संयुक्त लगानी रहेको छ।

स्थलगत अनुगमनका क्रममा आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको नगर प्रमुख विष्टले प्रतिक्रिया दिनुभयो। पाइपलाइन, रिजर्भ ट्याङ्की तथा धारालगायतका संरचनाको निरीक्षणपछि वडा नं. ७ को कार्यालयमा उपभोक्ताको सहभागितामा योजनाको प्रगति तथा व्यवस्थापनबारे समीक्षा समेत गरिएको थियो।

कार्यक्रममा नगर प्रमुख विष्टले खानेपानी आयोजना नागरिककै हितका लागि निर्माण गरिएको उल्लेख गर्दै यसको संरक्षण र दिगोपनामा नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने बताउनुभयो। लामो प्रतीक्षापछि ‘एक घर, एक धारा’ अभियान अन्तर्गत निर्माण सम्पन्न गरी परीक्षण वितरणसमेत सुरु भइसकेको जानकारी दिनुभयो। यसलाई विकास साझेदार, प्रदेश सरकार तथा स्थानीय उपभोक्ताका लागि खुसीको विषय भएको उल्लेख गर्नुभयो।

च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले समुदायको सक्रिय सहभागिता, च्वाइस नेपाल र नगरपालिकाको सहकार्यबाट आयोजना सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो। आयोजना सम्पन्न हुन उपभोक्ताको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो तथा त्यसको प्रशंसा गर्नुभयो। काम गर्ने क्रममा त्रुटि हुन सक्ने भए पनि त्यस्ता अनुभवबाट सिक्दै अघि बढ्दा नै उपलब्धि हासिल हुने बताउँदै भन्नुभयो, “काम गर्नेको गल्ती हुन्छ, कामै नगर्नेको कसरी गल्ती हुन्छ ?” आयोजना सम्पन्न भएपछि पनि आगामी चरणहरूमा च्वाइस नेपाल निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगर उपप्रमुख भरत गोपालीले धारामा पानी झर्नु मात्र उपलब्धि नभई त्यसको दिगोपना र संरक्षण सुनिश्चित गर्नु अझ महत्वपूर्ण विषय भएको बताउनुभयो। परियोजनामा बाँकी रहेका काम क्रमशः सुधार गर्दै लैजान पालिका र उपभोक्ता दुवै सक्रिय हुनुपर्ने उल्लेख गर्नुभयो। खानेपानी व्यवस्थापनका लागि नगरपालिका र थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डबीच प्रभावकारी समन्वय आवश्यक रहेको सुझाव दिनुभयो।

वडा नं. ७ का अध्यक्ष शिवराज थिङले खानेपानी आयोजनाप्रति निराशा बढिरहेको अवस्थामा नगरपालिका र च्वाइस नेपालको सहयोगले नयाँ आशा जगाएको बताउनुभयो। वडाको समग्र विकासका लागि सबै पक्षबाट निरन्तर सहयोगको अनुरोध गर्नुभयो।

कार्यक्रममा उपभोक्ताहरूले आयोजना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड मार्फत अघि बढाउन आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। परियोजनाका बाँकी काम पालिका र च्वाइस नेपालको सहकार्यमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। साथै उपभोक्ताको तर्फबाट पनि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

निर्माणाधीन मझुवा चिसापानी लिफ्टिङ खानेपानी आयोजना अन्तर्गत दुई वटा स्किममार्फत ३ सय ९१ घरधुरीमा ‘एक घर, एक धारा’ विस्तार गरिएको छ। परियोजनाको स्किम–१ अन्तर्गत लिफ्टिङ प्रणाली र स्किम–२ अन्तर्गत ग्राभिटी प्रणालीमार्फत खानेपानी वितरण गरिनेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार