
मकवानपुर : थाहा नगरपालिका–११ मा निर्माण सम्पन्न भएको तल्लो चित्रे मालागिरी खानेपानी आयोजनाको उदघाटन गरिएको छ। थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली र च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले संयुक्त रूपमा आयोजित एक समारोह बीच आयोजनाको उदघाटन गर्नुभएको हो।
च्वाइस नेपालको सहयोग तथा थाहा नगरपालिका र स्थानीय समुदायको लागत साझेदारीमा निर्माण भएको आयोजना मार्फत ७६ घरधुरीमा ‘एक घर, एक धारा’ सुविधा विस्तार गरिएको छ।
उदघाटन कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीले तल्लो चित्रे र मालागिरीका स्थानीयले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्या समाधान भएको बताउनुभयो। आयोजना निर्माणसँगै यसको दिगो व्यवस्थापनमा सबै उपभोक्ताले विशेष ध्यान दिनुपर्ने आग्रह गर्नुभयो।
उहाँले इन्टरनेट सेवाका लागि मासिक ठूलो रकम खर्च गर्न तयार हुने तर स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानी सेवाका लागि न्यून शुल्क तिर्न पनि हिचकिचाउने प्रवृत्तिमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। योजनाको दिगोपना तथा एकीकृत सेवा प्रवाह सुनिश्चित गर्न सबै उपभोक्तालाई थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डमा आबद्ध हुन अनुरोध गर्नुभयो।
नगर उपप्रमुख गोपालीले आयोजना निर्माणमा सहयोग पुर्याउने च्वाइस नेपालप्रति आभार व्यक्त गर्नुभयो तथा सफल कार्यान्वयनका लागि सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले स्थानीय सरकारको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्ने संस्थागत कार्यप्रणालीअनुसार आयोजना सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।

उहाँले वडा नं. ११ का अध्यक्ष दिनेश बलले स्थानीय स्तरमा खानेपानीको आवश्यकता पहिचान गरी नगरपालिकासँग समन्वय गरेकाले आयोजना सम्भव भएको उल्लेख गर्नुभयो। उपभोक्ताको श्रमदान र सबै पक्षको सहकार्यबाट आज घरघरमा खानेपानी सेवा पुगेको जानकारी दिनुभयो।
करिब ३४ लाख रुपैयाँ लागतमा सम्पन्न उक्त आयोजनामा थाहा नगरपालिकाले ५ लाख रुपैयाँ वित्तीय साझेदारी गरेको जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा उपभोक्ताले निर्माणका क्रममा गरेको श्रमदानको प्रशंसा गर्नुभयो। उहाँले “तपाईंहरूको हातको ठेला अझै ताजै होला, अब त घरछेवैको धारामा पानी आयो” भन्नुभयो।
स्थानीय बासिन्दाले बस्तीभन्दा तल रहेको परम्परागत पँधेराबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी व्यक्त गर्नुभयो।
तल्लो चित्रे मालागिरी खानेपानी योजना निर्माण समितिकी अध्यक्ष सोममायाँ स्याङ्तानले आयोजना निर्माणमा सहयोग गर्ने च्वाइस नेपाल, थाहा नगरपालिका तथा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयो। घरायसी कामको मुख्य जिम्मेवारी अझै पनि महिलामाथि नै रहेको उल्लेख गर्दै अब महिलाले डोको र भाँडामा पानी बोकेर हिँड्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो। उहाँले “अब महिलाहरूले डोको र बोत्तलमा पानी बोक्ने दिन गए, खुसीका दिन फर्किए” भन्नुभयो।
उक्त आयोजनाको निर्माण समितिमा अधिकांश महिलाको सक्रिय सहभागिता रहेको थियो।

समितिकी अध्यक्ष सोममायाँ स्याङ्तानको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा थाहा नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ११ का अध्यक्ष दिनेश बल, थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका प्रशासकीय अधिकृत सुरज भुजेल, थाहा नगरपालिकाका सब–इन्जिनियर सीताराम ढकाल, च्वाइस नेपालका प्रताप घिमिरे, सुवास मरहट्टा, वडा सदस्य, निर्माण समितिका पदाधिकारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।


183 पटक हेरिएको 

