सान्दाने सफा तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा, खानेपानी आयोजनाको पनि आजै उदघाटन

५० घरधुरीमा ‘एक घर, एक धारा’ मार्फत सुरक्षित खानेपानीको पहुँच

  वास खबर सम्बाददाता  852 पटक हेरिएको
🔗
64
Shares

उदयपुर  : उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–६ स्थित सान्दाने बस्तीलाई सफा तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। नेपाल स्वास्थ्यका लागि पानी (NEWAH) र उदयपुरगढी गाउँपालिकाको साझेदारीमा सञ्चालित सान्दाने खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले पहिलो पटक आफ्नै घर आँगनमा सुरक्षित खानेपानीको सुविधा प्राप्त गरेका छन्।

आयोजना सम्पन्न भएपछि आयोजित समारोहमा समुदायलाई औपचारिक रूपमा सफा तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुका साथै नवनिर्मित खानेपानी आयोजनाको उदघाटन गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल स्वास्थ्यका लागि पानी (NEWAH) का प्रतिनिधि, उपभोक्ता समिति तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

आयोजनामा उदयपुरगढी गाउँपालिकाले रु. ८,१६,३९४, नेपाल स्वास्थ्यका लागि पानी (NEWAH) ले रु. २०,८२,९६८ तथा स्थानीय समुदायले रु. ८,७३,२४७ बराबरको जनश्रमदान गरेका छन्। यसरी कुल रु. ३७,७२,६०९ लागतमा आयोजना निर्माण सम्पन्न भएको हो।

आयोजना अन्तर्गत ५० वटा निजी धारा, २ वटा मुहान संरक्षण, २ वटा रफिङ फिल्टर, ३ वटा रिजर्भोयर ट्याङ्की (RVT), ६,८३५ मिटर एचडीपीई (HDPE) पाइपलाइन तथा १ वटा केबल क्रसिङ निर्माण गरिएको छ। यी संरचनामार्फत वडा नं. ६ का स्थानीय बासिन्दालाई नियमित रूपमा सुरक्षित खानेपानी उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यस अघि वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दा टाढाटाढाबाट पानी बोकेर ल्याउन बाध्य थिए। विशेष गरी वर्षायाममा धमिलो पानी र हिउँदमा पानीको अभावका कारण समुदायले विभिन्न समस्या भोग्दै आएको थियो। आयोजना सम्पन्न भएपछि ‘एक घर, एक धारा’ अवधारणाअनुसार प्रत्येक घरमा सुरक्षित खानेपानी पुगेको भन्दै स्थानीय उपभोक्ताले खुसी व्यक्त गर्नुभएको छ। उहाँहरूका अनुसार घरमै धारा पुगेपछि समयको बचत हुनुका साथै सरसफाइ, स्वास्थ्य र दैनिक जीवन सहज भएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्काले सुरक्षित खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले गाउँपालिकाले यस्ता साझेदारीका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय सरकार, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यबाट दिगो विकासका लक्ष्य हासिल गर्न सहज हुने बताउनुभयो।

वडा अध्यक्ष कृष्णबहादुर खत्रीले समुदायको सक्रिय सहभागिता र जनश्रमदानका कारण आयोजना सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुभयो। खानेपानी प्रणालीको संरक्षण तथा नियमित मर्मतसम्भारमा सबै उपभोक्ताले समान जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।

नेपाल स्वास्थ्यका लागि पानी (NEWAH) का प्रतिनिधिहरूले सुरक्षित खानेपानीसँगै सरसफाइ, स्वच्छता तथा समुदायको व्यवहार परिवर्तनलाई पनि समान रूपमा महत्व दिइएको उल्लेख गर्नुभयो। दिगो व्यवस्थापन सुनिश्चित गर्न उपभोक्ता समितिको क्षमता विकास तथा समुदायको स्वामित्वलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।

कार्यक्रमकै अवसरमा समुदायका सबै घरधुरीले सुरक्षित खानेपानीको प्रयोग गर्ने, पानीका स्रोतहरूको संरक्षण गर्ने, सरसफाइ कायम राख्ने, खुला स्थानमा फोहोर नफाल्ने, खानेपानी संरचनाको संरक्षण गर्ने तथा समुदायलाई स्वच्छ र स्वस्थ राख्न सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त प्रतिबद्धतापत्रमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति तथा समुदायका प्रतिनिधिले हस्ताक्षर समेत गर्नुभएको थियो।

उदयपुरगढी गाउँपालिका–६ को सान्दाने बस्तीमा सम्पन्न यस आयोजनाले सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै समुदायको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

उदघाटन तथा घोषणा कार्यक्रममा उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर खत्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेपाल स्वास्थ्यका लागि पानी (NEWAH) का प्राविधिक सहजकर्ता हिक्मतबहादुर थापा, सामाजिक सहजकर्ता योगबहादुर मोक्तानलगायत सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रम सान्दाने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष अभिबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार