केरवानी खानेपानी संस्थाको आयोजनामा अभिमुखीकरण कार्यक्रम, पानी सुरक्षा योजना, अटोमेसन प्रणाली लगायत बिषयमा प्रशिक्षण

  वास खबर सम्बाददाता  165 पटक हेरिएको
🔗
33
Shares

देवदह : केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले संस्थागत क्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले एकदिने अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको सरसफाइ समिति, लेखा समिति, सुरक्षा योजना उपसमिति तथा कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा संस्थाको प्रभावकारी सञ्चालन, सुशासन, वित्तीय व्यवस्थापन, सरसफाइ तथा सुरक्षित खानेपानी व्यवस्थापन सँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण गरिएको थियो।

कार्यक्रममा संस्थागत व्यवस्थापन, लेखा तथा वित्तीय व्यवस्थापन, सरसफाइ प्रवर्द्धन, पानी सुरक्षा योजना (Water Safety Plan) कार्यान्वयन, बोरिङ तथा पानी ट्याङ्की सञ्चालन, अटोमेसन प्रणाली र संस्थाबाट प्रदान गरिने सेवाको प्रभावकारी व्यवस्थापन सम्बन्धी विषयमा सहभागीहरूलाई व्यावहारिक जानकारी दिइएको थियो।

संस्थाका अध्यक्ष दीपक पौडेलले तालिमले सहभागीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै संस्थाको सेवा प्रवाहलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले संस्थाको दिगो सञ्चालन र उपभोक्तालाई भरपर्दो तथा सुरक्षित खानेपानी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछन्।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालय, रुपन्देहीका अधिकृत ईश्वरीप्रसाद आचार्यले खानेपानी तथा सरसफाइ क्षेत्रका नीति, योजना तथा संस्थागत व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बुटवलका लेखा प्रशिक्षक सर्विज्ञराज भट्टराईले वित्तीय तथा लेखा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। दियालो टेक्नोलोजी प्रा।लि।का अधिकृत तथा बजार प्रतिनिधि रोशन पोखरेलले संस्थामा प्रयोग हुने अटोमेसन प्रणाली र प्राविधिक पक्षबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा ३२ जनाको सहभागिता रहेको थियो। संस्थाका अध्यक्ष दीपक पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा संस्थाका संस्थापक अध्यक्ष प्रजापति सापकोटा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष बोधराज गौडेल विशेष अतिथि तथा देवदह नगरपालिकाकी कार्यपालिका सदस्य गीता भण्डारी अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमले संस्थाको संस्थागत सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा सुरक्षित र दिगो खानेपानी सेवा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार